प्रज्ञा–प्रतिष्ठानबाट नेपालका सबै जातिका सृष्टिका कथा प्रकाशन हुने

प्रज्ञा–प्रतिष्ठानबाट नेपालका सबै जातिका सृष्टिका कथा प्रकाशन हुने

कपन अनलाइन

काठमाडौँ,साउन १७।

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको बालसाहित्य तथा लोकवार्ता विभागले मानिसका विभिन्न जाति र तिनका थरका उत्पत्तिकथामा आधारित लोककथा ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको हो ।

बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले भने – “नेपालका प्रत्येक जाति र तिनका थरका सृष्टिका आ–आफ्नै कथा छन् । ती हाम्रा अमूल्य लोकसम्पत्ति हुन् । तिनको खोजी, सङ्कलन तथा सम्पादन गरेर ग्रन्थका रूपमा प्रकाशन गर्नु प्रज्ञा–प्रतिष्ठानको दायित्व हो । यसले हामीबिचको आपसी सद्भावलाई सिर्जना गर्ने काम गर्दछ । यसका साथै हरेक जातिहरुका बिचमा रहेको सामीप्यको उद्घाटनसमेत हुने छ ।”

उनले नेपालका सातै प्रदेशमा बसोबास गर्ने विभिन्न जात–जातिका सृष्टिका कथा खोज तथा सङ्कलन गरेर प्रकाशन गर्ने निणय गरिएको जानकारी गराए ।प्राज्ञ डा. नेपालका अनुसार साउन १४ गते बुधबारका दिन बसेको विभागको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न भएका कामको जानकारी, मूल्याङ्कन तथा कार्यसमीक्षा गरिनुका साथै आगामी आर्थिक वर्षका योजनाका बारेमा छलफल गरी विभिन्न महत्त्वपूर्ण निर्णय गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।