सबै नेपाली एक होऔँ : विष्णुप्रसाद शर्मा पराजुली (कविता )
कपन अनलाइन
काठमाडौं ,साउन १०।
हामी सबैकी जननी स्वर्गकी परी नेपाल आमा हुन्
तराइ–पहाड–हिमालका काखमा रम्ने नेपाली उनकै सन्तान हुन्
उन्नति र प्रगति गर्न, समृद्ध अनि आत्मनिर्भर बन्न प्रतिस्पर्धा गरौँ
तर, नेपाल आमालाई बचाउन सबै नेपाली एक होऔँ ।१।
युगौँ देखि, दुष्टहरूले आमालाई छिन्न भिन्न पार्न खोजिरहेछन्
आततायीहरूले आमालाई विषालु भालाले अङ्ग अङ्गमा कोपरिहेछन्
एकापसमा भातृत्वको सगरमाथामा जेलिँदै दक्ष बन्न प्रतिस्पर्धा गरौँ
तर, नेपाल आमालाई बचाउन सबै नेपाली एक होऔँ ।२।
दासताको गर्भाधानबाट जन्मेका जन्मजातक माराहरू कुर्लँदैछन्
‘सयौँ थुङ्गा फूलकाहामी एउटै माला नेपालीलाई चुँडाल्न खोज्दैछन्
पवित्र भावले सेवा गर्न आमाको, सन्तान हामी प्रतिस्पर्धा गरौँ
तर, नेपाल आमालाई बचाउन सबै नेपाली एक होऔँ ।३।
लामा–लामा नङ्ग्राहरूले छाती आमाको चिथोरिरहेछन् गिद्धहरू
घरभित्रै जुँवाको खाल थापिरहेछन् छल कपटका शकुनिहरू
विकासका राजमार्गहरू खोल्दै आत्मनिर्भर बन्न प्रतिस्पर्धा गरौँ
तर, नेपाल आमालाई बचाउन सबै नेपाली एक होऔँ ।४।
आमा बनेर दुध चुसाउन पुतनाहरू नेपाल भित्रै जन्माउन सक्छन्
भाइभाइमा महाभारत जन्माउन लोभलालचका ब्रह्मास्त्र दिन सक्छन्,
आमाको स्वाभिमान र अस्तित्व रक्षार्थ
पञ्चपाण्डव बन्न प्रतिस्पर्धा गरौँ
तर, नेपालआमालाई बचाउन सबै नेपाली एक होऔँ ।५।
आमाका अमृत धारागङ्गाहरूमा डाहका विषवमन गर्न सक्छन्
गौरीशङ्कर र लामबद्ध हिमचुलीहरूमा इर्ष्याका वाणहरू हान्न सक्छन्
सहनशील, कीर्तिमानी, पराक्रमी र विजयी बन्न प्रतिस्पर्धा गरौँ
तर, नेपाल आमालाई बचाउन सबै नेपाली एक होऔँ ।६।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक