शंखरापुर नगरपालिकाको ऐतिहासिक कलश पोखरी पुनः निर्माण अन्तिम चरणमा

शंखरापुर नगरपालिकाको ऐतिहासिक कलश पोखरी पुनः निर्माण अन्तिम चरणमा

कपन अनलाइन
काठमाडौं असार ३१। शंखरापुर नगरपालिका वडा नं. ६ स्थित इपाटोलको बुहारी भित्र्याउने ढोका (भौःध्वाखा)संगै रहेको ऐतिहासिक कलश पोखरीको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ। उक्त पोखरीको करिब ९० प्रतिशत पुनः निर्माण कार्य सम्पन्न भएको कलश पोखरी पुनः निर्माण उपभोक्ता समितिका अध्यक्ष देबेन्द्र श्रेष्ठले जानकारी दिएका छन। तीन बर्ष अघि बाट पुनः निर्माण शुरु गरिएको उक्त पोखरीमा एक करोड भन्दा बढी रकम खर्च भै सकेको र अझै २० लाख जति रकम आबश्यक हुने उनले बताए । वडा स्तरीय र नगर स्तरीय योजना गरि शंखरापुर नगरपालिका बाट मात्र ६० लाख भन्दा बढी रकम उक्त पोखरी पुनः निर्माणको लागि प्राप्त भएको छ भने पोखरीको उत्तर तर्फको पाटी निर्माणको लागि उपत्यका बिकास प्राधिकरण बाट करिब ४० लाखको ठेक्का बाट काम भएको अध्यक्ष श्रेष्ठले बताए ।


त्यसै गरी प्रगती परियोजना बाट ५ लाख, वडा नं. ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ बाट २ लाख, पिपुल्स लाईफ कियर अस्पताल बाट १ लाख र समाजसेबी राजदास श्रेष्ठ बाट १ लाख सहयोग प्राप्त भएको उनले बताए । पोखरी पुनः निर्माणमा जनताको पनि सहयोग र सहभागीता होस भनेर २५ हजार सम्म सहयोग गर्ने दाताहरुको नाम शिलापत्रमा समेत राखिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । वडाको गौरबको आयोजनाको रुपमा कलश पोखरी पुनः निर्माणको कार्य लाई अघि बढाएको शंखरापुर नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले बताए ।
साँखुको आफ्नै बेग्लै विशेषताको ४ ढोका मध्यको एक बुहारी बित्र्याउने ढोकाको अगाडी साँखु आउनेहरुलाइ स्वागतको लागि दायाँबायाँ रहेको दुई ओटा ऐतिहासिक महत्वको पोखरीको पुनः निर्माणले साँखुको साँस्कृतिक महत्व अझ बढने उनले बताए ।आफुहरु निर्बाचित भएर आउना साथ पोखरीको सरसफाइ संगै जनताको सहयोग र सहभागितामा पुनः निर्माण कार्य अघि बढाएको र पोखरी संगैको पाटी समेत पुरातत्व बिभागले बनाउन  आ.ब.२०७७/७८ को लागि बजेट बिनियोजन गरि सकेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन ।

पोखरीमा घुम्न आउने ब्यक्तिहरुलाइ घाम पानीले कुनै अप्ठ्यारो नहोस ताकी आनन्दले घुमी पोखरीको मज्जा लिन सकियोस भनेर पोखरीको उत्तर तर्फ पाटीको निर्माण गरिएको पोखरी पुनः निर्माणको डिजाइन गर्ने साँखुका युवा आर्किटेक सुरेश श्रेष्ठले बताए । पोखरीलार्इ पानी को श्रोतको रूपमा लिने परम्परागत धारणालाई केहि परिबर्तन गरि मनोरञ्जन लिने स्थलको रुपमा सम्पदा शैलीको पुरानै ढाँचामा डिजाइन गरिएको उनले बताए ।

पोखरीमा आउनेलाई मनोरञ्जन र आनन्द मिलोस भनेर पोखरीको चारैतिर फुल र फलफूलको बोट रोपी पोखरीको सौर्न्दर्यकरण समेत गरिएको छ । साँखुकै मुहारको रुपमा रहेको पोखरीको पुनः निर्माणले साँखुको सौर्न्दर्य थपिनेमा दुइ मत छैन ।

फोटो सौजन्य : शंखरापुर न्युज

तपाइँको प्रतिक्रिया ।