चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा प्रा.डा दिव्यासिंह शाह नियुक्त
कपन अनलाइन
काठमाडौं ,असार ४।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा प्राडा दिव्यासिंह शाह नियुक्त हुनुभएको छ । त्रिवि कार्यकारी परिषद्को बुधवार बसेको बैठकले प्राडा शाहलाई डिनमा नियुक्ति गरेको हो ।
प्राडा प्रेमराज ज्ञवाली नेतृत्वको सर्च कमिटीले प्राडा प्रदीप वैद्य, प्रा डा शाह र प्राडा उत्तमकृष्ण श्रेष्ठको नाम डिनका लागि सिफारिस गरेको थियो । प्राडा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् ।
जेठ २२ मा प्रा डा जगदीश अग्रवालले उमेर हदका कारण डिनबाट अवकाश पाएपछि उक्त पद रिक्त रहेको थियो । त्रिवि कार्यकारी परिषदले आज शाहलाई सोही पदमा नियुक्त गरिएको हो ।
त्रिवि कार्यकारी परिषद्ले सिफारिस भएका ३ जना मध्येबाट एक जनालाई आइओएमको डिन नियुक्त गर्ने व्यवस्था रहेको छ। प्राडा प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय सर्च कमिटीमा प्राडा सुवासराज आचार्य र प्राडा जीवन शेरचन सदस्य थिए ।