गिदी : बिनोद चालिसे (कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ३२।
खै कहाँ छ हाम्रो गिदी ?
खै कता हार्यो हाम्रो गिदी ?
थाहा छैन ,
कहिँ कतै विश्व विद्यालयको लकर भित्र छुट्न सक्छ
कहिँ कतै बाढी संगै बगेको हुन् सक्छ
कहिँ कतै पहिरोमा पुरिएको हुन् सक्छ
कहिँ कतै सिमापारी बतासिएको हुनसक्छ।
सहर सहर भागि हिडन सक्छ गिदी
डलर भएर साटिन सक्छ गिदी
अमर बन्ने रहरमा समरमा झर्न सक्छ गिदी
सप्निल नदीको बगरमा मर्न सक्छ गिदी।
कतै रहरहरु बटुलेर सगरमा उड्दै त् हैन ?
कतै प्रहरहरु भएर जहर ओकल्दै त् हैन ?
कतै धर्मग्रन्थका पृष्टहरुमा छुट्यो कि त् ?
कतै मधु शाला भित्र सितन बन्यो कि त् ?
खै कहाँ छ त् हाम्रो गिदी ?
खै कता हरायो त् हाम्रो गिदी ?
खप्पर भित्र सुरक्षित हुनु पर्ने गिदी
पेट भित्रको लादी जस्तै
दिनहु स्खलित त् हुदै छैन ?
नाली र ढल संगै दुर्गन्धित त् बन्दै छैन ?
धनको लालचमा मनहरुको हत्या गर्दै
जन जन भएर कुददै त् छैन ?
व्यभिचारी पिपासु जस्तै
तन तन भड्की हिडेको त् छैन ?
खै कता छ त् हाम्रो गिदी ?
खै कता हरायो त् हाम्रो गिदी ?
खप्पर भित्र शुसोभित गिदी
कुनै विदेसी गिद्दले टिपी लग्यो कि ?
कुनै स्वदेशी कुकुरले झिकी लग्यो कि ?
सायद त्यसैले होला
आज हाम्रो खप्पर गिदी बिहिन ,सुन्य केवल सुन्य
गुमनाम बगर झैँ भएको छ
सुनसान डगर झैँ भएको छ।
भएको छ केवल खडेरीले चिरा चिरा परेको फाँट
भएको छ केवल आगोले खाक बनाएको मसानघाट
खै कता छ हाम्रो गिदी ?
खै कता हरायो त् हाम्रो गिदी ?
(चालिसे बुढानिलकण्ठ -११ मा बसोवास गर्दै आएका छन )