प्रा.जगत प्रसाद उपाध्याय ‘प्रेक्षित’ का एकै साथ चार कृति प्रकाशित
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २३।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्याय ‘प्रेक्षित’ का एकैसाथ चार कृति प्रकाशित भएका छन् ।
स्रष्टा ‘प्रेक्षित’ को ‘आरम्भ’ हाइकु सङ्ग्रह, ‘म, माटो र मुटु’ कविता सङ्ग्रहका साथै ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ नामक दुई पुस्तक समालोचना सङ्ग्रहसहित चार कृति प्रकाशित भएका हुन् ।
नेपाल संस्कृत विश्व विद्यालयका पुर्व रजिस्टार रहेका बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा वसोवास गर्ने उपाध्यायको ‘आरम्भ’ नामक हाइकु सङ्ग्रहमा २ सय ११ ओटा हाइकु समावेस छन् ।
‘प्रेक्षित’ को ‘म, माटो र मुटु’ कविता सङ्ग्रहमा राष्ट्रप्रेम, देशको साँध सिमाना, राजनीतिका साथै सामाजिक संरचना आदि विषयमा रचिएका ४० ओटा कविता समावेश गरिएका छन् भने समालोचना कृति ‘काव्य परिशीलन’ मा विभिन्न समयमा लेखिएका ‘छन्द सिद्धान्त र नेपाली छन्द कविता परम्परा’ लगायत अनुसन्धानपरक १२ ओटा समालोचना समेटिएका छन।
उक्त कृतिमा नेपाली कवितामा मध्यपश्चिम क्षेत्रको इतिहास र योगदानको विहङ्गम समालोचना गरिएको छ भने दैलेखी न्याउला गीतमा सामाजिक चेत, दुल्लु क्षेत्रमा प्रचलित भैनीका साथै सबै प्रकारका कवितासँग सम्बन्धित अध्ययन ‘काव्य परिशीलन’ मा समेटिएको छ ।
यसै गरी ‘प्रेक्षित’को चौथो कृति ‘आलोचनात्मक भूमिकाहरू’ मा भैरव रिसालको पुस्तक देखि अन्य स्रष्टाका पुस्तकबारे ‘प्रेक्षित’ ले विभिन्न समयमा लेखेका २१ ओटा भूमिका एवम् समीक्षाहरू समावेश गरिएका छन् ।