रोयो विज्ञान (कविता)
कपन अनलाइन
काठमाडौं ,बैशाख २३ /ढुण्डीराज पोखरेल
आज यो विश्वको मान्छे, त्रास बोकेर बस्दछ ।
शक्ति सम्पन्न छौं भन्ने, कोठामा बस्न बाध्य छ ।।
कोरोना नामको मन्त्र, जप्दैछन् दिन रात नै ।।
अदृश्य शक्तिका सामु झुक्न बाध्य छन् सबै ।।१।।
आत्तियो मन मान्छेको, मृत्यु देखेर सामुमा ।
झस्कियो, लठ्ठियो मान्छे, प्रत्येक शहर गाउँमा ।।
विज्ञान काम लागेन, डाक्टर वैद्य गले, ढले ।
विश्वका मन मस्तिष्क, कोभिडको त्रासले गले ।।२।।
हामी हौं शक्ति सम्पन्न, भन्ने राष्ट्रहरु पनि ।
पत्तो केही नपाएर, रुन्छन् निरिह झैं बनी ।।
अत्यन्त शक्तिशाली यो, कोरोना नाम भाइरस ।
विश्व हल्लाउँदैछ आज, बन्यो अत्यन्त अद्भुत ।।३।।
जाबो सुक्ष्म किटाणुले, विश्व नै खल्बल्याउँदा ।
मुर्दाको खाल थापेर, बेगले सलबलाउँदा ।।
दुलाभित्र छिरे हाम्रा, वैज्ञानिक भनाउँदा ।
त्यो ज्ञान, सीप के भो, विपद्मा काम नआउँदा ।।४।।
विश्व सम्राट हौं भन्ने चीन, जापान, अमेरिका ।
कुनाभित्र पसी सुन्छन्, भाइरसका नमिठा कुरा ।।
चाहेमा दैवी शक्तिले, के गदैन र विश्वमा ? ।
रोयो विज्ञानको शक्ति, ईश्वरसामु यर्थाथमा ।।५।।