लिलाध्वज थापालाई खोज्दै अस्पताल सैयामा

लिलाध्वज थापालाई खोज्दै अस्पताल सैयामा

कपन अनलाइन

काठमाडौं ,बैशाख २३ /काजी रोशन

२०४१ असोज तिर म काठमाडौं मै थिए । त्यसबेला मैले सिद्धिचरण, बालकृष्ण सम, गोपालप्रसाद रिमाल, पारिजात, भूपि शेरचन देखि धेरै कवि लेखकहरुको निवास स्थान ठेगाना पत्ता लगाई नेरफेर, वरपरका सबैलाई सोधी जस्तै दुःख भए पनि पत्ता लगाई भेटी आउने गर्थे । कहिले एक कविलाई भेट्न २/३ दिन पनि लाग्थ्यो खोजी खोजी पत्ता लगाउन नसके हैरान भै फर्कन्थे र भेटिए पछि सगरमाथा चढे जत्तिकै खुसी लाग्थ्यो । मोवाईलको सुरुवातै थिएन भने फोन प्रयाप्त थिएन । चोक चोकमा सार्वजनिक टेलिफोन सेवा देखिन्थ्यो ।
गोरखापत्र मात्र समाचार माध्यम थियो र न्यूरोडको भूगोल पार्कमा प्रत्येक विहान गोरखापत्र टाँसिएको हुन्थ्यो । त्यही हेरेर जानकारी हुन्थ्यो । एक पटक विहान गोरखापत्र हेर्न जाँदा “उपन्यासकार लिलाध्वज थापा विर अस्पताल भर्ना” भन्ने समाचार छापिएको थियो ।

म उहाँलाई भेट्न सरासर विर अस्पतालमा गएर सबै वार्ड कोठा चहार्दै त्यहाँ भेटिने नर्स र सर्वसाधारणलाई यहाँ उपन्यासकार लिलाध्वज थापालाई राखेको वार्ड कुन हो ? भनि सोध्ने गर्थे र थाहा छैन भन्ने जवाफ मिल्थ्यो, फेरी अर्को वार्डमा गई त्यहाँ बसेकालाई यहाँ उपन्यासकार लिलाध्वज थापालाई राखेको वार्ड कुन हो ? भनि सोधे थाहा छैन भने –त्यो भन्दा माथी छेउ, यता उता सबै वार्ड चहार्दै यताबाट उता उताबाट यता, तलबाट माथि माथिबाट तल भेटिए जतिलाई सोध्दै गए म हैरान भए ।

एक जनाले तपाईले देखे चिन्नु हुन्छ भनि सोध्नु भयो मैले चिन्दिन अरुले चिनाई दिनुपर्छ भने । तर मेरो अभाग मैले यस अघि उहाँलाई प्रत्यक्ष भेटेको थिइन र मैले सोधेकाहरु पनि चिनेका कोही भएनन् । म लखतरान भै कोठामा फर्के ।

म फर्केको एक हप्ता नवित्दै २०४१ असोज १४ गते उहाँको निधन भएको रेडियोबाट सुने दुःख लाग्यो । हार्दिक श्रद्धाञ्जली अर्पण गरेँ ।

तपाइँको प्रतिक्रिया ।