आदिवासी जनजातिको आन्दोलन प्रचण्डको आह्वानमाःके.पी ओली

नेकपा एमालेका नेता केपी ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा आदिवासी जनजातिले आन्दोलन गरेको आरोप लगाउँदै विगतमा माओवादीले गर्ने जस्तो हड्ताल भएको बताएका छन्। दवाबले बोल्न-हिँड्न नपाएको अवस्थामा संविधान लेखनमा सहमति गर्न नसकिने उनले बताए।

 मधेसी लोकतान्त्रिक मोर्चासहित प्रमुख दलहरूबीच भएको वार्तापछि उनले कुनै राजनीतिक दल तथा सङ्गठन विशेषले प्रस्तुत गरेका अनुपयुक्त मागबारे सम्झाउने तथा उपयुक्त मागलाई पूरा गर्ने ढङ्गले नेताहरूले काम गर्न सक्नुपर्ने उल्लेख गरे।
वार्तामा आदिवासी जनजातिले आयोजना गरेको बन्द हड्तालको दवाबबाट हिँड्न, बोल्न नसकिरहेको अवस्थामा संविधान लेखनका बारेमा के वार्ता गर्ने र के सहमति कायम गर्ने, कसरी टुङगोमा पुग्ने भन्दै आन्दोलनकारीसँग एकसरो छलफल गर्ने र बन्द हडताल रोक्न आह्वान गरेर संयुक्त विज्ञप्ति जारी गरेपछि मात्र संविधानका विषयमा छलफल गर्ने निर्णय भएको थियो।
‘जथाभावी सहमति गर्न हुँदैन, एउटाले जातीय आधारमा प्रदेश चाहिन्छ भन्छ त्यसमा सहमति, अर्काले हुँदैन भन्छ त्यसमा पनि सहमति, जे विषयमा पनि सहमति गर्दा अचम्मको सहमतिको चाङ बन्न पुग्दछ, जुन मुलुक र जनताको हितमा हुँदैन’ उनले भने।
कुनै माग पूरा गराउने सवालमा आवेश र उत्तेजनामा आएर होइन, गणतन्त्र ल्याएको जनताबीच आपसी द्वैष फैलाउन नभई सद्भाव र समृद्धिको लागि भएकाले प्राप्त गणतन्त्रलाई सुन्दर बनाउन र न्यायका आधारमा मागलाई सम्वोधन गर्न राजनीतिक दल र सम्वद्ध नेता जिम्मेवार ढङ्गले अघि बढ्नुपर्ने उनले औंल्याए।
संविधान आएन भने माओवादीको कारणले आउदैन अरु तयार नै रहेको उनको भनाइ थियो। रासस
तपाइँको प्रतिक्रिया ।