नेसनल युनाइटेड मावी बुढानिलकण्ठ -२ मा अनलाइन कक्षा सुरु

नेसनल युनाइटेड मावी बुढानिलकण्ठ -२ मा अनलाइन कक्षा सुरु

कपन अनलाइन 

काठमाडौं ,चैत २४।

विश्व कारोना भाइरस (कोभिड – १९) को सङ्क्रमणमा परेको वर्तमान समयमा प्रायः सम्पूर्ण देशका शिक्षण संस्थाहरु बन्द रहेका छन। नेपाल सरकारको निर्णयबमोजिम चैत्र ६ गतेदेखि नेपालभरका शैक्षिक संस्थामा पनि अध्ययन अध्यापन कार्य बन्द रहेको छ ।

यो समयमा देशका केहि उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुले अनलाइन कक्षा संचालन गरिरहेका छन भने बुढानिलकण्ठ गणेशचोकमा अवस्थित नेसनल युनाइटेड स्कुलले पनि  एसइइ परीक्षाको तयारी कक्षाहरु अनलाइनमार्फत सुरु गरेको हो ।

लामो समय शैक्षिक संस्था बन्द हुदा शैक्षिक क्यालेन्डरमा असर देखिएको, परीक्षा सरेको र विद्यार्थीको आवश्यकतालाई महसुश गर्दै हालको लागि कक्षा १० को अनलाइन कक्षा सुरु गरिएको प्रिन्सिपल शायरा हमालले बताउनुभयो।

अघिल्लो दुई हप्ताको लागि विभिन्न होम एसाइनमेन्ट विद्यार्थीलाई दिइएको र दोस्रो हप्ता सकिनासाथ स्कुलले अनलाइन कक्षाहरु सुरु गरेको स्कुलका इन्चार्ज सरोज शर्माले जानकारी दिनुभयो।

लकडाउन अवधिभर घरमै बसेर विद्यार्थीले आफ्ना शिक्षकहरुसँग इन्टरनेट सञ्जाल मार्फत् पढ्न पाउने हुनाले विद्यार्थीको अध्ययनमा निरन्तरता र परीक्षाको तयारीमा असर नपुगोस भन्ने उद्देश्यले अनलाइन कक्षा सञ्चालन गरिएको स्कुलले जनाएको छ ।

स्कुलको यो कार्यले गर्दा विद्यार्थीहरुको खाली समय पनि सही ढङ्गले उपयोग हुने अभिभावकहरुको बुझाइ रहेको छ । घरमै बसिबसि आफ्ना शिक्षकहरुसँग पढाइका साथसाथै आफ्ना अनुभव,धारणा र प्रश्नहरु राखेर अध्ययन गर्न पाउँदा विद्यार्थीहरु पनि खुसी भएका छन् ।

तपाइँको प्रतिक्रिया ।