प्रचण्डले रूवाण्डा बनाउन खोजे नेपाललाई: बस्नेत

८ जेठ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले सम्वद्ध युवा तथा विद्यार्थी संगठनले १० गते बृहद सद्भाव र्‍याली निकाल्ने भएका छन् । युवा संघ, तरुण दल, अनेरास्ववियु र नेविसंघले संयूक्त पत्रकार सम्मेलन गरी पछिल्लो समयमा मुलुकको जातीय सदभाव खलबलिन थालेको भन्दै जातीय सदभाव कायम गर्न आग्रह गरेका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै कुनै बेला पत्रकारमाथि आक्रमण गरेर फरार रहेका युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले पत्रकारमाथि भइरहेको आक्रमणको विरोध गरेका छन् । उक्त पत्रकार सम्मेलनमा उनले माओवादी अध्यक्ष प्रचण्डलाई कलियूगका रावण भन्दै प्रचण्डले मान्छे पिच्छे फरक-फरक कुरा गरेर जातीय सद्भाव भड्काउने काम गरेको आरोप लगाए । उनले प्रचण्डको यस्तो व्यवहारले नेपालमा पनि रूवाण्डाको जस्तै स्थति आउन सक्नेतर्फ संकेत गर्दै उनले भविष्यमा प्रचण्ड देशबाट भाग्नुपर्ने अवस्था आउने बताए ।
युवा संघका अध्यक्ष बस्नेतले सञ्चारकर्मी, मानवअधिकारकर्मीमाथी आक्रमण गरेर आफ्नो लक्ष्य पुरा गर्छु भन्ने सपना नदेख्न आन्दोलनकारीहरूलाई चेतावनी दिएका छन् । भारतीय काउन्सिलर एसडी मेहताले बोलेको समाचार प्रशारण गर्ने सन्चारमाध्यम अहिले प्रमुख आक्रमणको तारो बनेको जनाउँदै उनले नेपालमा जातीय द्धन्द्ध भडकाउन  खर्च भएको भारतीय र यूरो रुपैँया कहाँबाट सञ्चाललित हुन्छ भन्ने कुरा खोजी गर्नु आवश्यक भएको बताए ।
अनेरास्ववियूका अध्यक्ष माधव ढुङ्गेलले भारतीय कुटनीतिज्ञले नेपालमा जातीय आन्दोलन चर्काउन दिएको सुझाव नेपालको सार्वभौमसत्तामाथिको आक्रमण भएको बताए । उनले मेहतालाई तत्काल फिर्ता पठाउनु पर्ने धारणा राखेका थिए ।
नेविसंघका अध्यक्ष रञ्जित कर्णले सामाजिक सदभाव भड्काउन खोज्नेविरुद्ध सचेत रहन आग्रह गरेका छन् । सुझबुझ बिनाको जातीय नाराले मुलुकलाई विखण्डनतिर धकल्ने उनको भनाई थियो । तरुण दलका अध्यक्ष उदयसमशेर राणाले जातजातिलाई लडाएर स्वार्थ सिद्ध गर्न केही नेताहरु लागिपरेको जिकिर गरेका छन् ।
तपाइँको प्रतिक्रिया ।