कोरोना व्याधी बाट बचौं (कविता )
कपन अनलाइन
काठमाडौं ,चैत ११ /नारायण नेपाल
यौटा व्याधी छ कोरोना सम्झिँदै सास रोक्किने
फेरि हल्ला छ धर्तीको चट्टानसँग ठोक्किने !
युटुबे तस्करी त्यस्तै अत्याउने थरी-थरी
खबरी अझ बड्कौँले, भ्रम चिर्नु कसो गरी ?
धर्मभीरू उसै व्यस्त पर्चाबाजी छ बेस्कन
अस्पताल नभै रोगी लगिन्छ मृत्यु-आँगन !
आपूर्ति छैन कानूनन् डामाडोल बजार छ
निमुखा जनता भन्छन् सक्नेलाई हजार छ !
यस्ताउस्ता सबै तीता कुरामात्र सुनाउँदै
हिँड्नेलाई छ यो बिन्ती नहिंड मुख बाउँदै l
सक्छन् मद्दतमा लागुन् नतर्साउन् कसैगरी
विश्व आपतका बेला मान्छे हुन् सद्गुणी, हरी !
नसोचुन् घात अर्काको, बिर्सुन् द्वेश तथा अहम्,
जपुन् स्वर गरी यौटै ‘वशुधैव कुटुम्बकम् !’
अनि पो छुन्न व्याधीले, न हुन्छ दग्धी घातक,
ध्वंशी पिण्ड स्वयम् टुट्छ भन्छ यो प्राण चातक !
साँच्चै लाग्छ मलाई यो सरोकारी सचेत छन्
बाँडी ढाडसका भाव जित्नेछन् मन धेर झन् ।
सामान्य जन चाल्छन् नै उपकारी कदम् सबै,
बालेर मनको बत्ती भन्दैछु – जय होस् ल है !