कपनमा नयाँ मन्टेश्वरी विद्यालय खुल्यो

माघ २१/ कपन अनलाइन करिब ३ दर्जन विद्यालय र आधा दर्जन मन्टेश्वरी प्रविधिमा सञ्चालित पूर्व प्राथमिक विद्यालयको भीडमा कपनमा अर्को एक पूर्व प्राथमिक विद्यालय सञ्चालनमा आएको छ । कपनको वडा नं. १, बालकुमारी टोलमा करिब २ रोपनी क्षेत्र फलमा सञ्चालित बाल संसार नेपाल नामक उक्त विद्यालय पूर्णतया मन्टेश्वरी विधिमा सञ्चालन हुने व्यवस्थापनले जनाएको छ ।

कपनमा सामाजिक तथा शैक्षिक गतिविधिमा संलग्न उत्कृष्ट समूहद्वारा व्यवस्थापन हुने उक्त विद्यालयले गत शनिवार चियापान गरी समाजमा नयाँ विद्यालय सञ्चालनमा ल्याएको जानकारी गराएको थियो भने आज श्री पञ्चमीको दिनमा विद्यालयको विधिवत् रुपमा शुरुवात गरेको छ । एउटा विद्यालय सञ्चालनमा रहँदै अर्को विद्यालय स्थापना किन गर्नुभयो भन्ने कपन अनलाइनको प्रश्नमा विद्यालयका प्रबन्ध निर्देशक ठाकुर प्रसाद खकुरेलले फरक शैलीमा आफ्ना नानीहरु पढाउने अभिभावकको चाहना र माग बमोजिम यो समूहले मन्टेश्वरी विधि सञ्चालन हुनेगरी विद्यालयको शुरुवात गरेको जानकारी गराउनुभयो ।

विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा आबद्ध भई नवजागृति विद्यालयको प्रधानाध्यापकबाट अवकाश पाएका र हाल सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका ठाकुर प्रसाद खकुरेलको नेतृत्वमा शंकरराज न्यौपाने, पुण्यराज पुडासैनी, पुरुषोत्तम नेपाल, ध्रुव पुडासैनी, ममता ढकाल कृष्णप्रसाद भट्टराई, माधव भट्टराई, अन्तरिक्ष अधिकारीको संलग्नतामा उक्त विद्यालय सञ्चालनमा आएको विद्यालय व्यवस्थापनले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।