हिमालवारीको देश !

हिमालवारीको देश !

कपन अनलाइन

काठमाडौँ, फागुन २५/ राधिका पन्त

भित्तामा सजाइएका सुन्दर चित्र भन्दा
असल चरित्रको पूजा गर्न र
घरको ढोका बन्द गराएर
बिछ्यौनामा सुकला गर्नुअघि
भर्सेलामाथि लुकेको बिरालो धपाउन
आतुर छ, हिमालवारीको देश !

कर्म नै मेरो धर्म हो भन्ने लागे पछि
सत्कर्मले भरेको उर्जा बोकेर
आराम भन्ने हरामसँग डराए पछि
कार्यान्तरलाई नै विश्राम मानिरहेछ
संघर्षमा जुटेर सँधै
सफलताको उत्कर्ष अगाल्न
आतुर छ हिमालवारीको देश !

तिमीले कति नापेकाछौ
उसको पाखुराको बल
त्यो भन्दा चौगुना बढी देखि रहेछु मैले
मेरा साध–सिमानाहरूसँग जंगे पिलर बनेर
उभिन परेमा
दुष्कृताम् बनेर उभिन आतुर छ
हिमालवारीको देश
र त
सधैँ नियाली रहनेछ
गतिविधि र बर्कतहरू
तर मौन बसि रहने छैन
हिजो झैँ आज पनि
मुख खोल्न आतुर छ ऊ
हिमालवारीको देश !
बाटोमा मोटर गुडाउनदेखि
आकाशमा हवाईजहाज उडाउनसम्म
तिम्रै आदेशको पर्खाईमा
बिताउने छैन अबको समय
तिनको विनाश गर्न
जसरी रावण र कंसलाई मार्न
स्वरूप बदलिएका थिए भगवानले
त्यसरी नै स्वरूप बदलेर
स्वजनहरूको रक्षार्थ खटिन आतुर छ
हिमालवारीको देश !

तपाइँको प्रतिक्रिया ।