अलपत्र ह्यान्डबल मैदान र असफलता तर्फ सरोकार समिति
काठमाडौं, फागुन २१। बुढानिलकण्ठ नगरपालिका वडा -१० मा रहेको ह्यान्डबल खेल मैदानको संरक्षण र विकास गर्न भनेर गठन भएको ह्यान्डबल मैदान सरोकार समिति अहिले अधुरो , अपुरो र असफल बनेको छ।
नगरपालिका र अन्य श्रोत बाट बारम्बार बजेट आए पनि समिति भित्रको चरम द्वन्द र सदस्य तथा पदाधिकारी विचको असमझदारीका कारण ती रकम फिर्ता गएका छन। यस द्वन्द र अब्यवस्थाको पछिल्लो उदाहरणका रूपमा समितीका सदस्य प्रज्वल थापाको राजिनामालाई लिन सकिन्छ ।
बागमती प्रदेश सभा सदस्य कुसुम कुमार कार्कीका स्वकीय सचिव समेत रहेका नेकपा निकट खेलकुद महा संघका नेता थापाले कार्की निकट भनेर चिनिने मिठाराम अधिकारीको नेतृत्व माथी घुमाउरो तरिकाले असहमति र असन्तुष्टि राख्दै राजिनामा दिएको विषयले अहिले निकै चर्चा पाइरहेको छ। ह्यान्डबल को प्रसासनिक भवन भनेर निकै ठुलो रकम खर्च भएको घरमा अहिले मासु पसल संचालनमा रहेको छ भने सो क्षेत्रमा रहेका सदाबहार खेलकुद समाजको भवन पनि प्रयोग विहिन बनेको छ तर यी तमाम दुराबस्थाले समितीका अध्यक्ष अधिकारीलाई कतै असर पारेको देखिदैन ।
ह्यान्डबलको आकार समेत थाहा नभएका कतिपय आफ्ना कोटरीका ब्यक्ति जम्मा गरेर संघमा हालिमुहाली गर्ने असफल प्रयास गरेका अधिकारी आफ्नै निकट सदस्यहरुले धमाधम राजिनामा दिदा अफ्ट्यारोमा परेका छन। केही समय अगाडी समितिका सदस्य राजु विक्रम थापाले दिएको राजिनामा लुकाएका अधिकारी अहिले अर्का सदस्य प्रज्वल थापाले गम्भीर प्रश्न उठाउदै सामाजिक संजाल बाटै राजिनामा दिदा चरम संकटमा परेको जानकारहरु बताउछन् । खाली भवन र सडकलाई मात्र विकास देख्ने अधिकारीले समयमा पहल गर्न नसक्दा उक्त मैदान अहिले पनि अलपत्र छ भने बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेलले सार्वजनिक कार्यक्रम होस वा बैठक सबै स्थानमा योजना बनाउने काम गर्नुस बजेट अभाव हुदैन भनेर प्रतिबद्धता व्यक्त गर्दा पनि कुनै प्रगति नहुनुलाई निकै गम्भीररूपमा लिनुपर्ने उक्त समितिका एक सदस्यले बताए । काठमाडौं जिल्ला खेलकुद समितिका निवर्तमान अध्यक्ष एबम उक्त समितिका सचिव धुर्वराज न्यौपानेले हाल सो स्थानमा रहेका संरचना हटाएर अन्तराष्ट्रिय स्तर खेलकुद कम्प्लेक्स बनाउन निकै पहिला देखि पहल गरेको तर त्यो पहल अधिकारीको अल्पकालीन विकासे मनस्थितिका कारण सफल हुन नसकेको बताइन्छ ।
त्यस्तै सतिदेवीको अंग पतन भए झै बिस्तारै सदस्यहरु राजिनामा दिदै जादा पनि सो समितिलाई नेपाल ह्यान्डबल संघका बरिष्ठ उपाध्यक्ष तथा कपनमा ह्यान्डबल खेल भित्राएर अधिकारीलाई हालको केन्द्रिय जिम्मेवारीमा पुर्याउने रामकृष्ण केसि किन बेहोस महादेव झै बनिरहेका छन ? यो प्रश्न निकै गम्भीर रहेको छ। केहि समय अगाडि बुढानिलकण्ठ नगरपालिकामा यस मैदानको विकास सम्बन्धि छलफलमा समितिका उपाध्यक्ष केसीले रकम ब्यवस्थापनका वारेमा नगर प्रमुख संग प्रश्न राख्दा त्यस्को चिन्ता नलिन र काम अगाडि बढाउन प्रमुख खरेलके आग्रह गरेका थिए । तर त्यो काम अगाडि लैजानु सट्टा सदस्यहरुले धमाधम राजिनामा दिनुलाई निकै गम्भीरता पुर्वक लिनुपर्ने देखिन्छ ।
त्यस्तै खेलकुद पुर्वाधार जस्तो महत्वपूर्ण विषयमा जसरी बृहत छलफल हुनुपर्ने थियो त्यो नभएको र यसमा अवका दिनमा वडा कार्यालयले नै पहल लिनुपर्ने माग पनि उठन थालेको एक स्थानीय बताउँछन। यति महत्वपूर्ण र जनचासोको विषयमा वडा कार्यालयको मौनताले आगामी दिनमा धेरै प्रश्न जन्माउने बताउदै उनले वडाको सकृय हस्तक्षेप आवस्यक रहेको धारणा राखेका छन।
यसरी आफ्ना सदस्यको बहिर्गमन र विविध प्रश्न उठे संगै सो समिति समस्याका प्वाल टालटुल पारेर बस्छ वा कुनै प्रभावकारी कदम चाल्छ । अहिले तमाम खेलाडी र खेलप्रेमी प्रतिक्षामा छन।