उपप्रधानमन्त्रीको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन
कपन अनलाइन
काठमाडौँ, फागुन १८ । सरकारले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ‘कोभिड–१९’ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरेको छ ।
समितिमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा सदस्य छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उपप्रधानमन्त्री पोखरेलसहित परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, अर्थमन्त्री डा. युवराज खतिवडा एवम् उच्च अधिकारीहरु सम्मिलित बैठकपछि उच्चस्तरीय समन्वय समिति गठन गरेका हुन् ।