सरकारले माग्यो १५ सय शिक्षक, लाइसेन्स नचाहिने

सरकारले माग्यो  १५ सय शिक्षक, लाइसेन्स नचाहिने

कपन अनलाइन

काठमाडौं ,फागुन १६। सरकारले विद्यालयमा पढाउन एक हजार पाँच सय शिक्षक माग गरेको छ । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका लागि स्वंयसेवक शिक्षकका लागि शुक्रबार आवेदन खोलेको छ।

स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले http://doe.gov.np मा जागिरका लागि निवेदन दिन सक्छन्।

अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरू शिक्षक हुन पाउँछन्। यस्तो शिक्षक हुन शिक्षण अनुमति पत्र (लाइसेन्स) पनि नचाहिने जनाएको छ।

आउँदो शैक्षिक सत्र वैशाखदेखि नै विद्यालयमा स्वंयसेवक शिक्षक पठाउने गरी केन्द्रले तयारी सुरू गरेको हो।

आजबाट आवेदन खुलाइएको छ ‘कूल एक हजार पाँच सय जना स्वंयसेवक शिक्षक  केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले बताए।

विद्यार्थी संख्या धेरै भएका तर आवश्यकताअनुसार शिक्षक नभएका विद्यालयमा स्वंयसेवक शिक्षक राख्न लागिएको हो। केन्द्रले शिक्षक छानेको विवरण सम्बन्धित स्थानीय तह र विद्यालयमा पठाएपछि उक्त शिक्षकलाई विद्यालयले नियुक्ति दिनेछन्।

देशका सात सय ५३ स्थानीय तहमध्ये छ सय ६८ तहमा शिक्षक अभाव छ। ‘मूल विषय अंग्रेजी, गणित, विज्ञान पढेकाले जागिर पाउने जनाएको छ ।

‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ भन्ने बजेटमा समेटिएको कार्यक्रमबाट स्वंयसेवक शिक्षक राख्न लागिएको हो।

सुगम क्षेत्रको विद्यालयमा पढाउने स्नातक मात्रै पास गरेको शिक्षकलाई मासिक तलब २४ हजार छ भने भौगोलिक क्षेत्रअनुसार दुर्गम क्षेत्रमा काम गर्नेको तलब ३० हजार छ। स्नातकोत्तर पढेकाको तलब केही धेरै छ।

उनीहरूको तलब सुगम क्षेत्रमा २६ हजार र दुर्गम क्षेत्रमा ३२ हजार हुने स्वंयसेवक परिचालन कार्यविधि २०७६ मा उल्लेख छ। शिक्षकहरूले प्राविधिक धारका शिक्षा विस्तार गरेका विद्यालयमा पनि पढाउन पाउनेछन्।

चैतभित्र केन्द्रबाट स्थानीय तहमा शिक्षकको विवरण पुग्नेछ। विद्यालयबाट नियुक्ति लिएको सात दिनभित्र पढाउन हाजिर नभए नियुक्ति स्वत: बदर हुन्छ। ‘यस्ता शिक्षकको एक विद्यालयबाट अर्कोमा सरूवा हुँदैन। जागिर छाड्नु परे दुई महिना अगाडि नै जानकारी दिनुपर्नेछ,’ उनले भने। स्वंयसेवक शिक्षकले सातामा २४ पिरियड पढाउनुपर्छ।

यस्ता शिक्षकले महिनामा एक दिन भई परिआउने/पर्व बिदा लिन पाउँछन्। तर बिनासूचना १५ दिनसम्म अनुपस्थित रहे प्रधानाध्यापकले स्वंयसेवकलाई जागिरबाट हटाउन सक्नेछन्।

वैशाखभित्र सम्बन्धित स्थानीय तहलाई केन्द्रबाट शिक्षक संख्याअनुसार बजेट पठाइसकिने थपलियाले बताए।

‘चैत १५ भित्र कोटा तोकेर स्वंयसेवक शिक्षक संख्या निर्धारण गरिन्छ। वैशाखभित्र स्थानीय तहमा बजेट पठाउँछौं,’ उनले भने, ‘जेठ मसान्तभित्र स्थानीय तहले विद्यालयको खातामा एकमुष्ट रकम पठाउनुपर्छ।’

तपाइँको प्रतिक्रिया ।