नागढुङ्गा–कलङ्की सडकमा सिसिटिभी जडान गरिने
कपन अनलाइन
काठमाडौं, फागुन ४ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिम ढकालले प्रणय दिवसको अवसरमा दुर्घटना न्यूनीकरणका लागि विद्यार्थी, स्थानीय, चालक र सरोकारवालाहरुलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन् ।
‘समुदाय–प्रहरी साझेदारी पालिका’ समिति चन्द्रागिरीले सतुंगलमा आयोजना गरेको ट्राफिक सचेतना कार्यक्रम अन्तर्गतको ‘सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक सचेतना कार्यक्रम’मा बोल्दै ट्राफिक महाशाखा प्रमुख ढकालले यस्तो बताएका हुन् ।
उनले भने, ‘जसरी प्रेमी, प्रमिकाबीच आपसी माया र आत्मियता हुन्छ । त्यसैगरी ट्राफिक नियमलाई पनि प्रेमपूर्वक पालना गर्दा दुर्घटनामा न्यूनीकरण हुनेछ ।
हामीले विश्वास लिएका छौं, तपाईं र हाम्रो आजको प्रेम र स्नेह भनेकै दुर्घटना न्यूनीकरण गर्नु हो । दुर्घटनाबाट कसैको माया नखोसियोस् ।’
उपत्यका नगरपालिकामा नमुना ट्राफिक क्षेत्र बनाउन सबै स्थानीय निकाय लाग्नुपर्ने र महाशाखाले केही स्थानीय निकायको सहकार्यमा व्यवस्थित ट्राफिक जोनका लागि गृहकार्य गरिरहेको उनले जानकारी दिए ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले चन्द्रागिरी नगरपालिकाको कलंकी–नागढुंगा सडकखण्डमा छिटै सीसीटिभी र सडक बत्ति जडान गर्न सरोकारवाला निकायसँग सहकार्य गरिरहेको बताए ।
उनले करीब एक करोडको बजेट विनियोजन गरेर काम सुरू गर्न लागेको र छिट्टै ट्राफिकमैत्री नगरपालिका बनाउने अभियानमा लागेको बताए ।
चन्द्रागिरी नगरपालिका अन्तर्गतको राजमार्ग तथा भित्री सडकखण्डमा हालको सडक दुर्घटना जोखिमको अवस्था, त्यसको न्यूनीकरण तथा नियन्त्रण गर्न ट्राफिक प्रहरी तथा प्रहरीले के–कसरी कार्य गरिरहेको छ ? भन्ने विषयमा सरोकारवाला निकायहरूसँग सहकार्य भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले प्रष्टाए ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सरकारले दुर्घटना न्यूनीकरणमा ध्यान दिन नसक्दा बर्षिनी सयौं जनधनको क्षती हुने गरेकोप्रति चिन्ता व्यक्त गरे ।
उनले मालबाहक सवारी साधनलाई उचित पार्किङको व्यवस्था गर्न नसक्दा व्यवसायीहरू मार्कामा पर्दै आएको बताए ।
कार्यक्रममा उचित ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटनाको प्रभावकारी अनुसन्धान गर्ने प्रहरी कर्मचारी, मध्य महानगरीय प्रहरी बृत्तका थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मा, थानकोट ट्राफिकका प्रहरी नायब निरीक्षक जीवनाथ कोइराला लगायतलाई सम्मान गरिएको छ ।
फोटो सौजन्य : रोशन दानी