शहर !
कपन अनलाइन
काठमाडौं, फागुन ४/सुवास राइ
शहर मात्र शहर हैन
गाउँघर र डाँडा पाखाले
कहिले हुँदा त
कहिले नहुँदा
मनमनै गर्ने रहर पनि हो ।
शहर मात्र पक्की घरहरुले हैन
स्वच्छ र दुषित मनहरुले
कहिले चाहेर त
कहिले नचाहँदा नचाहँदै
जम्कभेट भएर बनेको
अन्जानहरुको भीड पनि हो ।
तर शहर मात्र अन्जानहरुको बस्ती भने हैन
परिचित र अपरिचतहरुले
कहिले ऐेया भन्दा हात त
कहिले हाँसिरहँदा लात दिने
स्वच्छ अन्जान र दुष्ट मित्रहरुको बस्ती पनि हो ।
यो शहर मैले गाउँमा बस्दा
म र मेरो मनले
कहिले सुन फलाउन त
कहिले दुखि मन भुलाउन
सुत्दा र उठ्दा दुवै समय देखेको
जिन्दगी एक मिठो सपना पनि हो ।
तर आज यो शहर यस्तो लाग्छ
गाउँघर र डाँडा पाखालाई
कहिले बाल्यकाल सम्झेर त
कहिले दुखहरु चौतारीमा बिसाउन
ठूलो शहरको चेपारो दुनियाँमा रहेको
मनको जहाज उठाउने विमानस्थल पनि हो ।
तपाइँको प्रतिक्रिया ।