टेबलटेनिसमा संयोग र अन्जुलाई स्वर्ण

टेबलटेनिसमा संयोग र अन्जुलाई स्वर्ण

कपन अनलाइन

काठमाडौं, फागुन २। आदर्श विद्या मन्दिर (एभीएम) का संयोग कपाली र लिभरपुल इन्टरनेसनल कलेजकी अन्जु सुवालले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टेबलटेनिसको सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् । संयोग ब्वाइज तथा अन्जु गल्र्समा च्याम्पियन बने ।
नयाँ बानेश्वरस्थित प्रिमियर इन्टरनेसनल कलेजमा भएको ब्वाइज फाइनलमा संयोगले प्रिमियरका राजाराम थापालाई ११–७, ११–४, ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे । काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटका विधान तामाङ र ट्रिनिटीका अनिशगोपाल श्रेष्ठ तेश्रो भए ।
हिसान जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित प्रतियोगिताको गल्र्सको प्रतिस्पर्धात्मक फाइनलमा अन्जुले आफ्नै कलेजकी मनीषा सुवाललाई ११–८, ७–११, ११–६, ११–९, ९–११ र ११–५ को सेटमा हराइन् । प्रिमियरकी यसश्वी बस्नेत र हिमालयनकी एलिसा कार्की संयुक्त रुपमा तेश्रो भए ।
विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राज वैद्य, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्षद्वय युवराज शर्मा र नवराज पाण्डे, आयोजक हिसान काठमाडौंका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई सिंगल्स स्पर्धा समावेश टेबलटेनिसको ब्वाइजमा ३५ तथा गल्र्समा १६ खेलाडी सहभागी थिए ।

मोर्गन पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत बास्केटबलको गल्र्समा सेमिफाइनलमा प्रवेश गरेको छ ।
बसुन्धरास्थित ऋत एकेडेमीमा भएको खेलमा मोर्गनले जेभियर इन्टरनेसनल कलेजलाई २५–१७ ले पराजित गर्यो । मोर्गनको जितमा सिमरन महर्जनले १० अंक योगदान गरिन् । ब्वाइजमा ऋत एकेडेमी, साइपाल एकेडेमी, बर्न हार्ट र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
ऋतले काठमाडौं भ्यालीलाई ३०–१७, साइपालले एडमार्कलाई ४७–१३, बर्न हार्टले नोबेल एकेडेमीलाई २७–२६ र सीसीआरसीले नवोदितलाई ४२–२३ ले हराए । ऋतका ललित भण्डारीले १३, साइपालका सागर लामाले १४, बर्न हार्टका दीपेश महर्जनले ११ र सीसीआरसीका सिजन महतले १८ स्कोर गरे ।
सीसीआरसी र प्रिसियस पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत भलिबलको ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ऋत एकेडेमीमा भएको खेलमा सीसीआरसीले टाइम्सलाई २५–१६ र २५–२२ तथा प्रिसियसले हिमालयनलाई २५–२१ र २५–१६ को सोझो सेटमा पराजित गरे । ब्वाइजमै ग्लेसियर, एन्जल्स हार्ट, जुबिलियन्ट र गीताञ्जली क्वाटरफाइनलमा पुगे ।

तपाइँको प्रतिक्रिया ।