बुढानिलकण्ठ मन्दिर क्षेत्र व्यवस्थापनको चुनौती : जग्गा व्यवस्थापन

बुढानिलकण्ठ मन्दिर क्षेत्र व्यवस्थापनको चुनौती : जग्गा व्यवस्थापन

कपन अनलाइन 

काठमाडौं ,माघ २०।

काठमाडौं उपत्यकाको उत्तरी सिरान यो क्षेत्र ठुला ठुला तपस्वी र साधकहरुको साधना भुमि हो जसको ऐतिहासिक महत्वका वारेमा पौराणिक ग्रन्थहरुमा बयान गरिएको छ।

शिवपुरी बाबाको तपस्थल ,खप्तड बाबाको समाधि स्थल ,बिष्णु पादुका र बाग्द्वारको भुमि बुढानिलकण्ठ मन्दिर क्षेत्र अहिले विस्तार र विकासको प्रतिक्षामा रहेको छ।

बुढानिलकण्ठ क्षेत्र विकास समितिमा नेतृत्व नहुदा लामो समय देखि धेरै महत्वपूर्ण कामहरु हुन् सकेका छैनन्।

बुढानिलकण्ठ नगरपालिकाको नामकरण भएको बुढानिलकण्ठ मन्दिर क्षेत्रलाई विस्तार तथा विकास गर्ने योजना उक्त क्षेत्र विकास समितिमा नेतृत्व नभएका कारण अवरुद्ध बनेको हो ।

करिव ३४ वर्ष अगाडी देखि शुरु भएको मन्दिर क्षेत्र विस्तार तथा व्यवस्थापनको प्रयास केवल प्रयासमा सिमित बनेको छ भने सो क्षेत्र विकास समितिको नेतृत्व प्रति पनि सधै यहि प्रसंगले प्रश्न खडा गर्ने  गरेको छ।

अहिले सम्म बुढानिलकण्ठ क्षेत्र विकास समितिको नेतृत्व गरेका अध्यक्ष तथा सदस्य सचिवको प्रयास रहदा रहदै पनि सो सफल हुन् नसक्नुमा मन्दिर क्षेत्रमा रहेका स्थानीयहरुको घर जग्गा व्यवस्थापन प्रमुख कारण रहेको छ ।

सो क्षेत्रमा  वसोवास गर्ने स्थानीयको उचित व्यवस्थापनका वारेमा व्यापक पहल  भएको भएता पनि त्यसले सार्थकता पाउन सकेको छैन। २०४२  शालमा जग्गा अधिग्रहणको पहल भएर केहि स्थानीयले मुवाब्जा बुझे पनि अझै धेरै घरहरुको मुवाब्जा वितरण हुन् सकेको छैन ।

लामो समय सम्म अनिर्णय र अनिश्चिततामा रहेका स्थानीयहरु २०७२ शालको महाभूकम्प पश्चात थप समस्यामा परेका छन । उनीहरु अहिले पक्कि संरचना निर्माण गर्न नसकी कतिपय जिर्ण अवस्थामा रहेको वासमा रहन बाध्य बनेका छन।

यस्तो संवेदनशील बिषयको पृष्ठभूमि हेर्दा यहाको समस्या समाधानमा सरोकार राख्ने सरोकारवालाहरुले मुद्दाको संवेदनशीलता महसुस गरे पनि समधानको ठोस पहल गर्न सकेका थिएनन् ।

यस विषयमा  यसै क्षेत्रको प्रतिनिधित्व गर्ने नेपाल सरकारका उप प्रधानमन्त्री ईश्वर पोखरेलले पनि मन्दिर क्षेत्र विस्तार र व्यवस्थापन गर्नका लागि बस्ति स्थानान्तरण उचित रहेको बताउदै त्यसका लागि सरकारले जुन सुकै सहयोग गर्ने बताउदै आएका छन। आफ्नो निर्वाचन क्षेत्रका जनताले अनिश्चयमा बस्न नहुने बताउदै आएका उप प्रधानमन्त्री पोखरेलले मन्दिर क्षेत्रलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीय सरकार संग योजना समेत माग्दै आएका छन ।

पछिल्लो समय बागमती प्रदेस सभा सदस्य दिपक निरौलाले मन्दिर क्षेत्रको स्थानीयको घर जग्गा ल्याण्ड पुल्लिंग मार्फत स्थानान्तरण गर्ने प्रस्ताव ल्याए संगै यो विषयले चर्चा पाएको थियो।निरौलाले सो मन्दिर क्षेत्रको विस्तार र विकासका लागि गुरु योजना निर्माण र त्यहाको वस्ती व्यवस्थापनको कामलाई प्राथमिकतामा राख्नुपर्ने बताउदै आएका छन।

त्यस्तै यस विषयको अर्को सरोकारवाला रहेका बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ रहेका छन जसको वसोवास सोहि मन्दिर क्षेत्रमा रहेको छ। स्थानीयको दवाव , स्थानीय सरकारको नेतृत्व  र आफ्नो चुनावी नाराका विचमा सामन्जस्यता कायम गर्न संघर्षरत श्रेष्ठले आगामी दिनमा चाल्ने कदमले यस समस्याको समाधानमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

बुढानिलकण्ठ मन्दिर क्षेत्र विस्तार किन आवस्यक छ ? 

देश विदेशका हिन्दु धर्मालम्बी र पर्यटकहरुको रोजाइमा पर्ने धार्मीक तथा पर्यटकीय स्थल हो बुढानिलकण्ठ जुन शिवपुरी -नागार्जुन रास्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भित्र पर्दछ।

विशेष मेला र पर्व बाहेक पनि दैनिक सयौ तिर्थालु र आन्तरिक पर्यटकले भ्रमण गर्ने यस मन्दिर क्षेत्रमा रहेका संरचना र पूर्वाधार साघुरो र कम रहेका कारण उनीहरुको बसाइ भने निकै छोटो हुने गरेको छ।

मन्दिर क्षेत्रमा रहेका सानातिना होटल र पसल बाहेक लामो समय सम्म पर्यटक रोक्न सक्ने पूर्वाधार नभएको सो स्थानमा रहेको मन्दिर परिसर पनि निकै सानो रहेको छ ।

धेरै पटक मन्दिर क्षेत्र विस्तारको पहल भए पनि विविध कारणले सो रोकिए संगै मन्दिर क्षेत्रमा कुनै ठुला पूर्वाधार निर्माण हुन् सकेका छैनन् ।

यसले गर्दा प्रचुर सम्भावनाको शिरमा बसेर पनि यो मन्दिर आफ्ना बहुमुल्य सामान र भक्तजनका उपहार हनुमान ढोका तिर पुर्याउन बाध्य बनेको छ । स्थान अभावका कारण मन्दिरमा दान  दातव्य गरेका सामान राख्न नसक्ने विवसता बोकेको यो क्षेत्रमा अहिलेको अवस्थामा कुनै ठुलो यज्ञ ,उत्सव र महोत्सव गर्न सकिने अवस्था देखिदैन।

त्यसैले बुढानिलकण्ठ मन्दिरलाई काठमाडौं उपत्यकाको प्रमुख धार्मिक तथा पर्यटकीय सम्पदा बनाउनका लागि मन्दिर क्षेत्र विस्तार आवस्यक देखिन्छ जसको आवस्यक्ताबोध सबैले गरेको देखिए पनि निर्णायक पहल भने भएको देखिदैन ।

शिवपुरी पर्वतको काखमा रहेको बुढानिलकण्ठको मन्दिरको गरिमालाई बढाउने भन्दा पनि अहिले धमिल्याउने काम भैरहेको आभास धेरैले गर्न थालेका छन।

त्यसैले उक्त मन्दिरको प्रवर्धनका लागि यथासिघ्र सो क्षेत्र विकास समिति गठन गरि जग्गा व्यवस्थापनको मुद्दा समाधान गर्न ढिला गर्दा समस्या झन् जटिल बन्दै जाने एक पुर्व पदाधिकारी बताउछन।

अव बन्ने समिति र त्यसको नेतृत्वले सो क्षेत्रको जग्गा व्यवस्थापनको ठोस र प्रभावकारी योजना सहित आउनु पर्ने उनको धारणा रहेको छ।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।