बाबालाई चिठी !
कपन अनलाइन
काठमाडौं ,माघ १७/ सृजना सुवेदी ढुङ्गाना
आदरणीय बाबा
सादर प्रमाण
हामी यहाँ आरामै छौँ । हजुरहरु पनि त्यहाँ आरामै हुनुहुन्छ होला भन्ने आशा राख्दछु । आमा र हजुरआमालाई नमस्कार भनिदिनुहोला । भाई, बुहारी, भतिज, भतिजीलाई आर्शीवाद छ । खासमा यहाँ त्यस्तो नयाँ नौलो खबर त केही छैन । म अथवा हजुरकी छोरीले त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्र्तगतको प्राकृतिक विज्ञान संग्रहालयमा जागिर खान थालेको कुरा त हजुरलाई अवगत नै छ । यसै सम्बन्धमा हजुर काठमाडौं आउँदा छोरी कार्यरत प्राकृतिक विज्ञान संग्रहालयमा एक पटक भ्रमण गरिदिनु होला भन्ने आशाका साथ यो पत्र लेखिरहेकी छु ।
बोट विरुवा, जीवजन्तु र जीवावशेषहरु जस्ता प्राकृतिक सम्पदाका नमूनालाई सङ्गृहीत र संरक्षित गरी प्रर्दशनी गर्ने ठाउँ नै प्राकृतिक विज्ञान संग्रहालय हो । हाम्रो प्राकृतिक विज्ञान संग्रहालय २०३२ सालमा त्रिभुवन विश्वविद्यालयले स्थापना गरेको हो । स्वयम्भूको चोकबाट करीब १० मिनेट पैदल मञ्जुश्री बजारतिर हिंडेपछि यो प्राकृतिक विज्ञान संग्रहालयमा पुगिन्छ ।
प्राकृतिक विज्ञान संग्रहालय विश्वसम्पदा सूचीमा संरक्षित स्वयम्भूको दक्षिण काखमा पर्दछ । यस संग्रहालय घुम्न आउँदाका दुईवटा लाभ छन् । पहिलो प्रकृतिमा रहेका विभिन्न जीव जन्तुका नमूना र जीवावशेष संग्रहालयमा अवलोकन गरी तिनीहरुको बारे ज्ञान हासिल गर्न पाइन्छ भने अर्को काठमाडौं उपत्यकाको पनि अवलोकन गर्न सकिन्छ साथै नजिकै स्वयम्भू मन्दिर दर्शन पनि गर्न पाइन्छ ।
यस संग्रहालयमा हजारौ जीवजन्तु, वनस्पति र जीवावशेषका नमूनाहरु छन् । , बाबा, यहाँ रामपिथेकसको बङ्गारा संग्रहालयमा राखिएको छ । साथै ३ महिनाको मानिसको भ्रुण, दूई टाउके सर्प चारवटा खुट्टा भएको कुखुराको चल्ला, अजिङ्गरको काचुली, एक टाउके दुुई जिउ भएको सुङ्गुर, आठखुट्टे बाख्राको पाठी, नेपालबाटै लोप भइसकेको रामगाई, सेतो काग, किरा खाने विरुवाहरु, यार्सागुम्बाहरु पाइन्छन् । यी नमूनाहरु अवलोकन गरेर नेपालको प्राकृतिक सम्पदा बारे यथेष्ट जानकारी प्राप्त गर्न सकिन्छ ।
माथि उल्लिखित नमूनाहरु आठ ओटा कोठा र एउटा ठूलो हलमा प्रर्दशनीको लागि राखिएका छन् । एउटा पुतली अनुसन्धान कोठा बाहेक अरु कोठाहरु खुल्ला राखिएका छन् । एक नम्वर कोठामा अन्तरक्रिया कोठा हो । यसकोठामा रोचक ढंङ्गले सिक्न सकिन्छ । त्यस्तै गरी २ नम्बर कोठामा कीराफट्रङ्गा, ३ नम्बर कोठामा फुलफुल्ने विरुवाका नमूना, ४ नम्बर कोठामा व्रायोफाइट्रसका नमूनाहरु, ५ नम्बर कोठामा पुलतीका नमूनाहरु, ६ नम्बर कोठामा चराचुरुङ्गीहरु, ७ नम्बर कोठामा सर्पका नमूनाहरु, ८ नम्बर कोठामा जीवावशेषहरु सुरक्षित रुपमा राखिएका छन् ।
यहाँ विद्यालय, कलेज र विश्वविद्यालयका विद्यार्थीहरु शैक्षिक भ्रमणमा आउने गर्दछन् । कुनै –कुनै विद्यालयले पूर्व तयारी गरी विद्यार्थीहरुलाई अवलोकन र टिपोट गर्न लगाउँदछन् । यस प्रकारको व्यवस्थित शैक्षिक भ्रमण दिनप्रति बढ्दै गइरहेको छ ।
यहाँ एउटा उद्यान पनि छ, जसमा जीवनका लागि अति उपयोगी १०० भन्दा बढी वोटविरुवाहरु छन् । यस उद्यानमा जुरेमयल, कुकुरडाइना,े रुद्राक्ष, राजवृक्ष, अमला, चुत्रो, जमानेमान्द्रो, ऐसेलु, आदि हजुरले देख्न सक्नुहुनेछ । साथै हजुरले २०७५ साल असोज २७ गते सम्माननीय राष्ट्रपतिज्यूले वृक्षारोपण गर्नु भएको बोधिचित्त पनि देख्न सक्नु हुन्छ ।
अन्तमा, बाबा प्राकृतिक विज्ञान संग्रहालयको भ्रमण गर्दा अध्ययनका लागि “प्राकृतिक विज्ञान संग्रहालयको एक चिनारी” नामक पुस्तिकासमेत प्राप्त गर्न सक्नुहुनेछ, जसबाट हजुरले धेरै जानकारी हासिल गर्नु हुनेछ । साथै हजुर यहाँ अवलोकन गर्न आउँदा हजुरलाई यहाँ कार्यरत प्राविधिकहरुले गाईड गरी हजुरको मनमा उठेका विभिन्न जिज्ञासा स्पष्ट पारीदिनुहुनेछ । संग्रहालयको वेभसाइटwww.nhmnepal.edu.npबाट पनि अन्य विभिन्न जानकारी हासिल गर्न सक्नुहुनेछ भन्ने आशाका साथ यो पत्रको बिट मार्दछु ।
उही तपाईकी
छोरी सृजना