सभामुखमा अग्नि सापकोटाद्वारा उम्मेदवारी दर्ता
कपन अनलाइन
काठमाडौं, माघ ७। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटाले सभामुखमा उम्मेदवारी दर्ता गरेका छन्।
उनले मंगलबार बिहान ल्होत्से हल, संघीय संसद भवनमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरूङ, पूर्वसभामुख एवं नेकपा सांसद ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा उनले उम्मेवदारी दर्ता गराएका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सभामुख निर्वाचनमा पार्टीबाट उम्मेदवारी नदिने भएको छ। मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखका लागि उम्मदवारी नदिने निर्णय गरेको हो।
रिक्त सभामुख पदका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ। संसद सचिवालयले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिएको छ।