काठमाडौं महानगरपालिकाको छैटौं नगर सभा सम्पन्न

काठमाडौं महानगरपालिकाको छैटौं नगर सभा सम्पन्न

कपन अनलाइन

काठमाडौँ,माघ २।काठमाडौं महानगरपालिकाको छैटौं नगर सभा सम्पन्न  भएको छ ।

चालु आर्थिक बर्षको स्वीकृत बजेटमा फरक नपर्ने गरी ८४ करोड २१ लाख रुपैयाँ बजेट संशोधन गर्दै महानगरको छैटौं नगर सभा सम्पन्न भएको हो ।

राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न सभाले भौतिक पूर्वाधार बिकास कार्यक्रमतर्फ ४५ करोड ६० लाख रुपैयाँ, सम्पत्ति खरिदतर्फ २७ करोड रुपैयाँ, सामाजिक बिकास कार्यक्रमतर्फ १ करोड ६७ लाख रुपैयाँसहित ६ शीर्षकमा संशोधन गरेको हो ।

संशोधित बजेटमा स्वास्थ्य सम्बन्धि कार्यक्रमतर्फ ८ करोड ४४ लाख रुपैयाँ, शिक्षातर्फ ५० लाख रुपैयाँ र चालु खर्चतर्फ १ करोड रुपैयाँ संशोधन भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकबाट खर्च हुन नसकेको रकम घटाएर तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रममा थपिएको हो । यसरी बजेट थप गरिएका कार्यक्रमहरुमा वडास्तरीय पूर्वाधार बिकास, सांस्कृतिक तथा पर्यटन प्रबर्धन कार्यक्रम, महानगर बिशेष पूर्वाधार कार्यक्रमलगायत छन् । त्यस्तै वडा २३ र ३० को कार्यालय भवनकालागि जग्गा तथा भवन खरिद, वडा १६ को भवन निर्माण, पार्किङ भवन निर्माण, जेष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र स्थापना, बिद्यालयहरुमा कम्प्युटर ल्याब र बिद्युतीय व्यवस्थापन प्रणाली स्थापनालगायत कार्यक्रम छन् । त्यस्तै कान्ति बाल अस्पतालमा रगतको कम्पोनेन्ट छुटाउने उपकरण खरिद, गंगालाल अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा सञ्चालन, सामुदायिक स्वास्थ्य क्लिनिकको स्तरोन्नतिलगायतका कार्यक्रम पनि शंशोधित बजेटमा परेका छन् ।

सभामा संशोधन बजेट पेश गर्न बित्त बिभागमा प्रमुख बुद्धरत्न मानन्धरलाई समय दिइएको थियो ।

बजेट संशोधनसँगै सभाले सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यबिधि ऐनमा संशोधन गरेर उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने व्यवस्था गरेको छ । यसअघि उहाँहरु आमन्त्रित सदस्य रहने व्यवस्था थियो । त्यस्तै महानगरको वडा ४ धुम्बाराहीमा शिवस्थली पार्क निर्माण गर्नका लागि प्रदेश सरकारबाट प्राप्त रकमसँग समपुरक बजेटको व्यवस्थापन गरेको छ ।

सभामा लेखा समितिका संयोजक ध्रुव त्रिपाठी, बिधायन समितिका संयोजक नरेशमान महर्जन र शुशासन समितिकी संयोजक हुमादेवी आचार्यले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । गएको नगर सभामा गठन गरिएका समितिहरुले त्यसपछि सम्पन्न गरेका कामहरुलाई प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

प्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिका संयोजक त्रिपाठीले — गएका आर्थिक बर्षमा सम्पन्न भएका लेखा परीक्षण प्रतिवेदन अध्ययन गरेर बेरुजु फस्र्यौट गर्ने दिशामा समितिले काम गरिरहेको जानकारी दिनुभयो भने बिधायन समितिका संयोजक महर्जनले, यस अबधिमा ऐन, कानून तथा बिधि निर्माण गर्ने दस्तावेज समितिमा नआएको उल्लेख गरे। महानगरलाई शुशासनयुक्त बनाउन छरिएका कार्यालयहरुलाई एकै ठाउँमा बनाउनुपर्ने शुशासन समितिकी संयोजक आचार्यले बताए ।

समितिका संयोजकहरुले देखाउनु भएको आवश्यकता र प्राप्त सुझाव कार्यान्वयनका बिषयमा जवाफ दिँदै सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले  प्रतिवेदनका बिषय अध्ययन गरेर कार्यान्वयनमा लैजान सकिने सुझावलाई कार्यान्वयन गरिने प्रतिवद्धता जनाए ।

सभामा प्रस्तुत कार्यसूचीको बिबिधमा बोल्दै वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलले फुटपाथ व्यवस्थापनलाई समन्वयात्मक रुपमा नियमन गरिनु पर्ने बताए भने वडा ३० का अध्यक्ष दलबहादुर कार्कीले वडा भवन निर्माणका लागि सबै एक मत भएर पनि काम नभएकोप्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताए ।

यस क्रममा वडा ४ का सदस्य धु्रव त्रिपाठी, ७ का सदस्य कृष्णप्रसाद घिमिरे, १६ का सदस्य जीवन मानन्धर, १७ की सदस्य कविता दासले धारणा राख्नुभएको थियो । उहाँहरुले पढ्न चाहने जनप्रतिनिधिको अध्ययन गर्ने अवसर, वडा सदस्यहरुलाई कार्य क्षेत्रको बाँडफाँड, कर्मचारीलाई प्रोत्साहन गर्ने, स्वीकृत बजेटअनुसार बोलपत्र आव्हान गर्न ढिला भएर काम हुन नसकेको अवस्थामा ध्यान पुर्याउनु पर्नेजस्ता बिषयमा धारणा राखेका थिए । त्यस्तै  नेपाल प्रहरीलाई प्रदान गरिएको सिसिटिभि क्यामरा राख्न दिएको रकमको उपयोग, यसबाट वडा र नागरिकलाई पुग्ने लाभ, बिद्यालय व्यवस्थापन समितिमा वडा सदस्यको प्रतिनिधित्व जस्ता बिषय उठान गरेका थिए।

यी सवालहरुको जवाफमा सभाका अध्यक्ष एवं प्रमुख शाक्यले सबै मिलेर धेरैलाई लाभ हुने काम गर्नेतिर लाग्नु पर्ने बताए ।

बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले  सार्वजनिक शौचालय निर्माण सञ्चालन र व्यवस्थापनका लागि गएको कार्यपालिकाको बैठकले आफूलाई जिम्मेवारी दिएको जानकारी गराइन् । आफ्नो वडामा यस सम्बन्धि देखिएका आवश्यकता आफूलाई जानकारी गराउन र यस सम्बन्धि कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिन ।

फोटो सौजन्य: काठमाडौँ अनलाइन

 

तपाइँको प्रतिक्रिया ।