विवेकशील नेपालीको घोषणापत्र सार्वजनिक
कपन अनलाइन०७० कार्तिक १८
आउँदो संबिधानसभा निर्वाचनमा नेपाली राजनीतिबाट फरक दृष्टिकोण तथा धार विकास गर्न खोजिरहेको विवेकशिल नेपाली अभियानले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । काठमाडौं जिल्लाको क्षेत्र नं. १, ४, ५ र ८ मा स्वतन्त्र उम्मेदवारी दिएको विवेकशिल अभियानले ऐतिहासिक बसन्तपुर क्षेत्रमा एक फरक कार्यक्रमकाबीच आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । विवेकशील नेपाली अभियान एक संगठन भए पनि काठमाडौंका ४ क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएको छ । नेपाली राजनीतिमा रहेका विकृति, भ्रष्टाचारित र विसंगति विरुद्ध आवाज उठाउनुको साथै यसको समाधानका लागि राजनीतिमा सही मानिस होमिनु पर्ने विषय वकालत गर्दै आएको छ विवेकशील नेपाली अभियानले । यही विषयलाई बुँदागतरुपमा प्रष्ट्याइएको छ घोषणपत्रमा । यो समूह कुकर चिन्ह लिएर चुनावी माहौलमा रहेको छ ।
कुकुुर तिहारको दिन पारेर घोषणपत्र सार्वजनिक गरिएको कार्यक्रममा चारै क्षेत्रका उमेद्वारले आफ्ना प्रतिबद्घताहरु प्रस्तुत गरका थिए । क्षेत्र नं. ४ बाट स्वतन्त्र उमेद्वारी दिएका २५ वर्षीय यूवा उद्यमी सन्तोष प्रधानले आफ्नो परिचय दिदै उनले हाल प्रत्यक्ष रुपमा ५० जनालाई रोजगारी दिईरहेको र अब उनको मुख्य लक्ष्य भनेको नेपालका सबै नागरिकलाई उद्यमी बनाउने र राजनैतिक कु–संस्कारलाई बदली शान्त र समृद्घ नेपाल बनाउने र त्यसका लागि आफू सधै लागि रहने बताएका थिए । क्षेत्र नं. ४ का युवा मतदाताहरुको विशेष तथा फरक आकर्षण केन्द्र बनेका छन् । हालसालै सार्वजनिक भएको एक मत सर्वेक्षणमा क्षेत्र नं. ४ मा सन्तोषको सन्तोषजनक प्रदर्शन रहने देखाइएको छ ।