कान्तिभैरब बागमती गङ्गा आरतीको दोस्रो बार्षिकोत्सव सम्पन्न

कान्तिभैरब बागमती गङ्गा आरतीको दोस्रो बार्षिकोत्सव सम्पन्न

कपन अनलाइन

काठमाडौं पौष १२।  गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा अवस्थित प्रसिद्द धार्मिक स्थल कान्तिभैरब मन्दिर परिसरको बागमती किनारमा हुदै आइरहेको बागमती गङ्गा आरतीले आज आफ्नो दोस्रो बार्षिकोत्सव सम्पन्न गरेको छ । पौष गया औशीको दिन अर्थात् बिहिबार  संघिय सांसद  कृष्ण राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कान्तिभैरब उत्तरबाहिनी क्षेत्र ब्यबस्थापन समितिका सल्लाहकार तथा कान्तिभैरब गुरुकुल संस्कृत माध्यामिक बिद्यालयका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर ऋषिराम पोखरेल, कान्तिभैरब उत्तरबाहिनी क्षेत्र ब्यबस्थापन समितिका अध्यक्ष भैरब बहादुर श्रेष्ठ, साबिक गोकर्णेश्वर गाबिसका अध्यक्ष एवम् स्वर्ण शिक्षा इंगलिस स्कुलका संस्थापक प्रिन्सिपल  एबम शिक्षाबिद् गोबिन्द बहादुर श्रेष्ठ, प्वाब्सन काठमाण्डौ जिल्ला अध्यक्ष एवम् बिध्या ब्यायम अंग्रेजी माध्यामिक बिद्यालयका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठ, कान्तिभैरब गुरुकुल संस्कृत माध्यामिक बिद्यालयका प्राचार्य श्रीराम अधिकारी , गोनापा ४ का वडा सदस्य जयराम महत, गोनपाको धार्मिक समितिका संयोजक दिवाकर भण्डारी, समाजसेवी दिपक सिंह भण्डारी, महानगरीय प्रहरी प्रभाग गोकर्णेश्वरका प्रमुख  प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनी, गोकर्णेश्वर गङ्गा आरती ब्यबस्थापन समिति कि सचिब रोजिना बिष्ट (रोज), कान्तिभैरब बागमती गङ्गा आरतिका सदस्यहरु यसैगरि कान्तिभैरब उत्तरबाहिनी क्षेत्र ब्यबस्थापन समितिका पदाधिकारी, लायन्स लिडर एवम् कान्तिभैरब गुरुकुल संस्कृत माध्यामिक बिद्यालय ब्यबस्थापन समितिका सदस्य श्रीचन केसी, स्थानीय समाजसेवी तथा भक्तजनहरुको बाक्लो उपस्थिति थियो ।

 आरतिमा बरिष्ठ गायक इश्वर आमात्यले सुरुवाती भजन गएका थिए।  भजन टोलीमा बरिष्ठ  बासुरीबाधक डाक्टर निरन्जन भण्डारी लगायतका बाध्यबाधक एवम गायकहरुको सहभागिता थियो । कार्यक्रममा प्राडा ऋषिराम पोखरेलले कान्तिभैरब उत्तरबाहिनी क्षेत्रको धार्मिक महत्वको बारे प्रकास पारेका थिए । “हिन्दुहरुको पवित्र ४ गया मध्य एक गया उत्तर गया हो , जुन नेपालमा पर्दछ । त्यो मध्य पनि कान्तिभैरब उत्तर गया नेपालमा रहेको सम्पूर्ण गयाक्षेत्रको शिर हो । हामीले अझै यो क्षेत्रको प्रचार प्रसार गरेर धार्मिक पर्यटन भित्र्याउनु पर्छ” प्राडा पोखरेलले भने ।

 कार्यक्रममा बोल्दै , प्वाब्सन काठमाण्डौ जिल्ला अध्यक्ष एवम् बिध्या ब्यायम अंग्रेजी माध्यामिक बिद्यालयका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठले सो क्षेत्रको विकासको लागि आफुले थुप्रै पहल र प्रयास गरेको स्मरण गरेका थिए। उनले स्थानीय जात्रा देखि लिएर संसद विकास कोषको बजेट पार्नको लागि पहल गरेको पनि बताएका थिए ।उनले सो क्षेत्रमा रहेको कान्तिभैरब गुरुकुल संस्कृत माध्यामिक बिद्यालयलाइ पनि आफुले धेरै सहयोग गरेको र अझै सो क्षेत्रको विकासका लागि आफ्नो प्रयास र पहल जारी रहने बताएका थिए।उनले  गङ्गा आरती कार्यक्रमले कान्तिभैराब मन्दिरको महत्व संगै पर्यटकको समेत आकर्षण बढाउन सहयोग पुर्याउने बताए ।

 कार्यक्रममा बोल्दै संघिय सांसद कृष्ण राइले , यो क्षेत्रको बिकास गर्न आफु सधै तयार रहेको र उपयुक्त गुरुयोजना बनाएर पेस गरे अर्को आर्थिक बर्षमा मन्दिर क्षेत्रको बिकासमा केन्द्रीय सरकारको बजेट पारिदिने बचन व्यक्त गरे । राइले भने “म सानो हुदा देखि खेलेको यो क्षेत्र पहिलेको भन्दा त धेरै बिकास भैसक्यो तर अझै धेरै गर्न बाकि रहेछ । उपयुक्त गुरुयोजना बनाएर आए सांसद बिकास कोषको साथै केन्द्रीय बजेट यो क्षेत्रमा हाल्न म प्रतिबद्व छु “ उनले आफै बाट रु २५०० दिई आरति को अक्ष्यय कोष स्थापना गर्न जोड दिएका थिए । कार्यक्रममा सहयोग गर्नेहरुलाई सम्मान पत्र बाट सम्मानित गरिएको थियो।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।