फरक रणनीतिमा कपन कांग्रेस

कपन अनलाइनबद्रि भट्टराई

कपनका बिजुलीका खम्बा खम्बामा एमाओवादी तथा एमालेका झण्डाहरु फहराइरहेको बेला कांग्रेस भने झण्डा लहराउनेभन्दा आन्तरिकरुपमा घरघर र बस्तिबस्तिमा गएर मतदातालाई आफूतिर आकर्षित गरिरहेको छ । अहिलेसम्म माइकिङसम्म कपन कांग्रेसले गरेको छैन । बाहिरी आवरणले मात्र केही हुँदैन, भित्र मजबुत हुनु पर्छ भन्ने सोचाइका साथ कपन कांग्रेस भित्रीरुपमा कपनबाट ५००० मत ल्याउने योजनामा सक्रिय रहेको कपन कांग्रेसका सभापति विनोद चालिसे बताउँछन् । उनी कपनका मतदाता गगन थापाको नामबाटै प्रभावित भएकोले बस्ति बस्तिमा उम्मेदवारलाई लैजाने काममा सक्रिय रहेको बताउँछन् ।

कपन कांग्रेसले चुनाव केन्द्रित प्रचारप्रसार कार्यालय पनि अरु पार्टीभन्दा कम खोलेको छ । वडा नं. ३, ६ र ९ मा मात्र यस्ता कार्यालय खुलेका छन् भने अब ३ वटा मात्र खोलिने विनोद चालिसे बताउँछन् । घर घर र वस्तिबस्तिमा उम्मेदवार लानु नै महत्वपूर्ण काम भएकोले कार्यालय खोल्नुलाई उती ठूलो महत्वको विषय नबनाएको उनको तर्क थियो । कार्तिक १६ गते वडा नं. १ को घरदैलो कार्यक्रमबाट बाहिरी प्रचारप्रसारलाई पनि महत्व दिने उनले बताए ।
क्षेत्र नं. ४ मा ८ वटा इकाइहरु रहे पनि उम्मेदवार गगन कुमार थापाले पनि हरेक दिनजस्तो कपनलाई समय दिइरहेका छन् । गगन थापालाई यस संबिधानसभामा बिजयी बनाउन कपनमा रामकृष्ण के.सी.को नेतृत्वमा ११ सदस्यीय चुनाव परिचालन समिति बनेको छ । यस समितिमा विद्या ज्ञवाली, रिता बुढाथोकी, राधेश्याम कार्की, श्याम डोटेल, राजाराम बुढाथोकी, टंक सापकोटा, सागर बैजु, अच्यूतप्रसाद पौडेललगायतका व्यक्ति छन् भने सल्लाहकारको रुपमा आत्माराम पौडेल रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।