समकालिन नेपाली गजलका बारेमा !
कपन अनलाइन
काठमाडौँ, पुस ४/ मिसन अधिकारी
समकालीन नेपाली गजलमा बहर, लय एवम् स्वतन्त्र लयको धार मात्र छैन । अरू–अरू थुप्रै धारहरू छन् ।
गजलमा मूख्यतयाः हुनुपर्ने यौटा बिशेषता हो संगीत । आजसम्म गजलमा हुनुपर्ने यौटा महत्त्वपूर्ण तत्त्वको बारे खास चर्चा(परिचर्चा हुने गरेको छैन । गाइएका गजलहरूलाई हेर्ने, अध्ययन गर्ने हो भने तिनीहरूमा सुमधुर संगीत छ । संगीत संगीतकारले मात्र दिने कुरा होइन, गीतकारले पनि निर्माण गरेको हुन्छ । गीतकारले निर्माण गरेको शब्दको संगीतमा संगीतकारले थप लयको रङ थप्ने हो ।
गजल बहर, छन्द वा लयमा हुनुपर्छ भन्नुको एउटै अर्थ हो संगित । जबसम्म शब्द र संगीतको साइनो हुन्नँ, गजल भनेर लेखिएपनि धेरै रचना गजल हुन सक्दैनन् । रदिफ र काफिया मिलाउँदैमा गजल हुँदैन । छन्द वा बहरमा लेख्दैमा पनि गजल हुँदैन । छन्द र बहरमा लेखिएका गजलमा जबर्ज्स्ति अर्कान मिलाउने समस्या एकातर्फ छ भने अर्को तर्फ नेपाली शब्दको आफ्नै खालको मिठास वा संरचना छ । त्यसलाई भाँचभुँच गरेर प्रयोग गरिँदा शेरहरूमा शब्दको मिठास उत्पन्न हुन्नँ । यस्ता समस्यामा गजलकारले थोरै सचेत गजलकारले ध्यान दिएको देखिन्छ ।
गजल लेख्नेहरूमा संगीतको चेतना हुनुपर्छ (यसो भन्दैमा गजलमा रुचि हुनेहरूले संगितको कक्षा लिनुपर्छ भन्न खोजिएको हैन, जो सित लय–चेतना एवम् संगीत–चेतना छ उसमा गजलकार हुने राम्रो सम्भावना हुन्छ भन्न खोजेको हुँ) ।
मोतिराम भट्टपछी ज्ञानुवाकर पौडेल, मनु ब्राजाकी, बूँद राना, ललिजन रावल, डा घनश्याम परिश्रमी, डा कृष्णहरि बराल, रवि प्राञ्जल, डा सनतकुमार वस्ती, डा देवी नेपाल आदिको समकालीन नेपाली गजलमा ठूलो योगदान छ । सबैलाई आदर एवम् सम्मानका आँखाले हेर्न आवश्यक हुन्छ । तर गजलमा रुचि राख्नेहरूले उत्कृष्ट गजलबाट सिक्नु उचित हुन्छ ।
यो मैले किन भनेको हुँ भने केही समय अघि एक गजलकारको दुई गजल केही समयको अन्तरमा सामाजिक सञ्जालमा आए । एउटा गजल बहरमा मात्रा चढावट एवम् मात्रा गिरावटको सिद्धान्तलाई अवलम्बन गरिएको सुन्दर गजल थियो । तर ‘न छन्द न बहर’ भन्ने खालको बहस उठ्यो । भीडले गजलको साहित्यिक मूल्यतर्फ ध्यान दिएन । अर्को गजल पनि बहरमा थियो । अघिल्लो गजललाई व्यापक टिप्पणी गरेको जनसमूहले बहरमै देखिएको समस्यामाथि चुँ पनि बोलेन ।
यो मैले कसैलाई पढाउन खोजेको नभै आफैंलाई पढाउन, आफैंलाई बुझाउन लेखें ।