कपन अनलाइन
काठमाडौँ, पुस २। नक्कली कागजात बनाइ फरक व्यक्तिहरुले सवारी चालक अनुमतिपत्रको ट्रायल परिक्षा दिने २ जना पक्राउ परेको छ।
ट्राफिक प्रहरी महाशाखाको टोलीले बिशेष सूचनाको आधारमा उनीहरुलाई काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेइकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट सरकारी कागजात नक्कली बनाई फरक व्यक्तिहरुको ट्रायल दिइरहेको अबस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कालिकोटको खाडाचक्र घर भइ अहिले चावहिल बस्ने वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भई हाल सुकेधारा बस्ने दिपक शाही रहेका छन् ।
उनीहरुको साथबाट दुई थान ल्यापटप, एक थान प्रिन्टर र जिल्ला प्रशासन कार्यालय लेखिएको नेपाली नागरिकताको नक्कली कार्ड ११ थान बरामद गरिएको छ ।
त्यसैगरि नक्कली नागरिकता बनाउन प्रयोग गरिने क्रिम पेपर ६ थान, विभिन्न व्यक्तिहरुको नागरिकता प्रमाणपत्र नम्बर र नाम प्रयोग गरी बनाइएका नक्कली नागरिकता ७ थान र जिल्ला प्रशासन कार्यालय बाँके उल्लेख भएको छाप एक थान पनि बरामद गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए ।
त्यसैगरी यातायात व्यवस्था कार्यालयबाट ट्रायल परीक्षाको लागि जारी गरिने विभिन्न नाम, थर र ठेगाना भएका व्यक्तिहरको एप्लीकेन्ट आइडीको फोटोकपी ३० थान, शाखा अधिकृत भएको छाप १ थान, क्याम्लिन लेखिएको स्टाम्प प्याड २ थान, रातो लेख्ने कलम १, फोटो टाँस्न प्रयोग हुने गम २ थान र कैची १ थान समेत बरामद गरिएको छ ।