नेपाल प्रहरी अस्पताल महाराजगंजमा नवनिर्मित रक्तसंचार केन्द्रको उद्‍घाटन

नेपाल प्रहरी अस्पताल महाराजगंजमा नवनिर्मित रक्तसंचार केन्द्रको  उद्‍घाटन

कपन अनलाइन
काठमाडौं, पुस २ । नेपाल प्रहरी अस्पताल महाराजगंजमा नवनिर्मित रक्तसंचार केन्द्र र फिजियोथेरापी रिहाविलिटेशन युनिटको बुधबार आयोजित एक समारोहमा उद्‍घाटन गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा नवनिर्मित रक्तसंचार केन्द्रको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले संयुक्त रुपमा उद्‍घाटन गरेका हुन् । उद्‍घाटन पश्चात उनिहरुले उक्त केन्द्र र युनिटको अवलोकन समेत गरेका थिए ।

सो अवसरमा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले प्रहरी महानिरीक्षक खनाललाई राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट सहयोग स्वरुप ४० लाख रुपैयाँ बराबरको चेक समेत हस्तान्तरण गरेका थिए ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले प्रहरी अस्पतालमा कार्यरत उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गर्दै प्रहरीले कर्तव्य निर्वाहको क्रममा आइपर्ने जोखिमलाई न्यूनीकरण गर्न नवनिर्मित केन्द्र र युनिटले सहयोग पुर्‍याउने बताएका थिए । प्रहरी अस्पतालले प्रदान गर्ने सेवाको गुणस्तरमा अझै वृद्धि गर्न प्राप्त साधनस्रोत थप उपयोगी हुने उनले उल्लेख गरेका थिए ।

अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.दुर्गा थापाले स्वागत मन्तव्य व्यक्त दिएको उक्त समारोहमा अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.मिनराज पाठकले धन्यवाद ज्ञापन गरेका थिए।

रक्त संचार केन्द्र स्थापनाले अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक रगत चौबिसै घन्टा सुलभ आपुर्ति, ईच्छुक रक्तदान प्रक्रियामा सहजता र व्यवस्थापन हुने तथा अन्य अस्पतालका बिरामीहरुलाई समेत रगत उपलब्ध गराई सामाजिक सेवामा समेत नेपाल प्रहरी अस्पतालको भूमिका स्थापना हुने विश्वास गरिएको छ । आधुनिक चिकित्सा विधिको उपचारको माध्यमको रुपमा रहेको फिजियोथेरापी रिहाविलिटेशन युनिटको सेवाबाट घाइते, दीर्घरोग लागेका र शारीरिक रुपमा अशक्त बिरामीहरुले छिटो भन्दा छिटो शारीरिक लाभ प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, राष्ट्रिय वाणिज्य बैंकका पदाधिकारीहरु, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल रक्त संचार केन्द्रका प्रमुख लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।

फोटो सौजन्य: नेपाल प्रहरी

तपाइँको प्रतिक्रिया ।