हामी भमरकोट घुमेका छौँ !

हामी भमरकोट घुमेका छौँ !

कपनअनलाइन

काठमाडौं, मंसिर १३ । तिलकप्रसाद लुइटेल
घुम्न जाने हो सर ? भन्दै बिहानै दुर्गा सरले फोन गर्नुभयो । प्रकृतिले बनाएको भ्रमणप्रिय प्राणी म, नहौसिने कुरै भएन । जङ्गम प्राणीमध्ये मान्छे चेतनशील अरे । विविध पक्षबाट चेतना बटुल्ने प्रयास गर्नु उसको प्रकृति हो । एकनास, एकरसता र एकरुपताबाट अलिक पर पुगेर पाएसम्मको भिन्नता रोज्ने बानी पनि मानिसकै हो । त्यसैले त जति धेरै घुमफिर गर्छ, उति जानकार मानिस बन्छ । अझ विदेशसम्म घुमेपछि त हामी सर्वज्ञ नै ठान्न बेर लाउँदैनौँ । कसैको देहान्त भएको होस् वा सन्तान जन्मेको वा विवाहको लगनगाँठो कसेको हिजो अस्ति जस्तो लाग्दा लाग्दै समय निकै गइसकेको हुन्छ । उसै गरी पैसा सापटी लिएको र घुम्न गएको त अस्ति हो भनेझैँ लाग्छ । सापटी फिर्ता माग्नेले तागेता गरेपछि औँला भाँच्ता पो निकै दिन भएछ भन्ने थाहा पाइन्छ । अझ धेरै थरी प्रक्रिया मिलाएर एकाध पटक बाहिर देश घुम्ने मौका पाउनेसँग भेटेपछि सजिलै बुझिन्छ । तेर वर्षपछि पनि तीन दिन जस्तै गरी ‘अस्ति म नेपालमा थिइनँ, विदेश गएको थिएँ’ भन्दै मौखिक अनुच्छेद धेरै मिलाउँछ । हाम्रो कुरो असोज १० गते २०७६ को हो । आज उसै वर्षको मंसिर छ गते भयो, निकै दिन बितिसकेछन् । मलाई पनि धेरै दिन बितेको जस्तो लागेको छैन । यो नै भ्रमणले दिएको आनन्दी उपहार हो । राहुल सांकृत्यायनले त्यही भएर ‘अथातो घुमक्कड जिज्ञासा’ शीर्षकको निबन्धमा भनेका होलान्—
सैर कर दुनियाँ की गाफिल जिन्दगानी फिर कहाँ ।
जिन्दगानी गर रही कुछ नौजवानी फिर कहाँ ।।
दुर्गा सरलाई म भरोसिला साथी मान्दछु । समय मिलाउन मलाई पनि गारो थिएन, त्यसैले कहाँ र किन भन्ने प्रश्नै गरिनँ । समय नमिल्ने थियो भने उस्तै सजिलो गरी ‘म भ्याउँदिनँ’ भन्न सक्ने थिएँ । बिहानको सात बज्दै थियो, ‘ल है, म त घुम्न गएँ’ भन्दै घरबाट चल्दिएँ । हाम्रा घरमा खुबै सोधखोज भयो भने— ‘खाना खान कति बेला आउने ?’ भन्ने मात्रै हो । त्यसमा पनि मिल्ने कुरा गरिदिएपछि आफू ढुक्क । मिलनचोक पार्टी प्यालेसमा भेट भएर सरस्वती नगर पुग्यौँ । त्यहाँ डिल्लीप्रसाद मूलतिहुन सहित तीन चम्का बनेर हामी चाबेल चोक पुग्दा सन्चा राईलाई भेट्यौँ । आफ्नै सवारी साधन र बिहानकै समय हुँदा पनि आठ झन्डै बज्यो । बाटो जाम थियो नभनी स्वतः बुझिन्छ ।
असल साथी पाएपछि धेरै कुरा सित्तैँमा पाइन्छ । कुनै बेला पुराना अनुभव, कुनै बेला डिल्ली सरका छन्दोबद्ध व्यङ्ग्य कविता, कहिले दुर्गा सरका हाइकुलाई गाइकु बनाएको स्वर, कहिले सन्चा राईका पूर्वेली गीतको लोकभाका बीच बीचमा गजल र मुक्तक पनि । यी सबै सुन्दा आफूले चाहिँ जगन्नाथ गुरागाईंले गुणरत्नमालामा लेख्नुभएको एक कविताको अन्तिम लहर— ‘विना कामले आयु मैले गुमाएँ’ भन्ने मनमनै सम्झिँदै थिएँ । बोल्नु परेका बेलामा चाहिँ भनेँ— ‘‘तीन जनाको अनुभव, कला र गला सुन्दै आउँदा मलाई खुसी लागेको छ । यहाँहरु थाक्नुभयो भने मेरै पालो त हो नि ।’’ उत्साहित कलाकारलाई थकाइ लाग्दो रहेनछ जस्तो पनि लाग्यो, त्यही नै मेरा लागि हितकारी पनि भयो । बीच बीचमा साहित्यका विभिन्न विधाहरुको सैद्धान्तिक पक्षको चर्चा पनि भयो । देखेका, भोगेका कथाकहानी सुन्ने सुनाउने भयो र त्यसमा हाँसोठट्टा पनि बेला बेला नमिसिएको होइन । काठमाडौँ र भक्तपुर जिल्ला त पछाडि नै छुटिसकेछन् । काभ्रेको जनागाल भन्ने ठाउँमा पुगिएछ । समय परिवर्तन हुँदै आएको बुझ्न हामी घडीको सुई घुमेको हेर्नमा बानी परेका छौँ । घडीले नौ बजाउने तरखर गरेको थियो । कसैले मोबाइलमा त कसैले हातको घडीमा बेला बेला हेरेका थियौँ ।
मान्छेले खानुपर्ने थिएन भने संसारमा आजको जस्तो परिवर्तन आउने थिएन होला । प्रकृतिले गरेको परिवर्तन मात्रै हुन्थ्यो । कृत्रिमताले धेरै कुरामा सजिलो पारेको छ भने कतिपय कुरामा अप्ठारो पनि नपारेको होइन । खानुपर्ने कुराले पनि यसरी हाँगा हाल्दै गयो खानुपर्ने बाध्यताकै कारण । बाँच्नका लागि वा पेट भर्नका लागि खाने एक थरी र वरिपरिकालाई देखाउनका लागि खाने अर्को थरी । बाँच्नका लागि खानेको जीवन र देखाउनका लागि खानेका जीवन दाँजेर हेर्ने हो भने पाइलैपिच्छे र अक्षरैपिच्छे फरक मनग्गे पाइन्छ । त्यतातिर लाग्ने फुर्सत अहिले भएन । तर पनि विचार गर्दा यी दुवैको मूल जरो एउटै हो, मानिसका पेटको क्षुधा । त्यसैले त दुर्गासप्तशतीमा—
या देवी सर्वभूतेषु क्षुधा रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
भनेर प्रार्थना गरिएको छ । क्षुधा भनेको भोक हो । प्रगतिमा उत्प्रेरणा जगाउने पनि यही हो ।सायद दुर्गा सरले जानेको चमेना पसल हो त्यो, पस्नुभयो । हामी पनि सँगै पस्यौँ । पाउरोटीमा खुवा च्यापेर बनाएको खाजा खाइयो । पेटको तलतल मेटाउनु त्यसको काम थियो । त्यसले आफ्नो कर्तव्य निर्वाह ग¥यो र साथै हाम्रो ध्यानाकर्षण पनि ग¥यो । वस्तु साधारण, मिहिनेत अलिकति थप गरेको हुनाले प्रस्तुति भिन्न, स्वाद उही पाउरोटी र उही खुवाको । वस्तुसँगै प्रस्तुति पनि राम्रो भयो भने त्यो प्रशंसनीय हुँदो रहेछ । उसलाई प्रशंसा गर्न पनि राम्रो लाग्यो । दुर्गा सरलाई धन्यवाद पनि दिएँ । संसारभित्र भएकै वस्तुलाई मानिसका कलाले सजाएर प्रस्तुत गरिएका हुन् सबै कुरा । चाहे त्यो धेरै ठुलो विषय होस् वा सानो पाउरोटीको टुक्रा नै । यसलाई राम्ररी बुझेका एक जना बा भन्नुहुन्थ्यो— ‘‘पैसो जाबो त बाबु, तैँ थैँ छ, टिप्न जान्नुपर्छ ।’’ मन आकर्षण गर्ने मिठो स्यान्डविच पेटमा भरेपछि पसलेले पैसा र प्रशंसा पाए । हाम्रा यात्राको एक पाना पल्टियो ।
प्रस्ताव नै घुम्न जाने त थियो । हामी हात पुछ्तै त्यहाँबाट हिँड्यौँ । डिल्ली सरले फोन लगाउनुभयो । उताबाट बोलेको नसुने पनि बाटामा रोकिनुपर्ने कुरा बुझ्न गारो भएन । हामी बाँसघारी पुग्नुपर्ने रहेछ भन्ने फोनमा गरेको कुराले अडकल काटेँ । आसाममा बाँसघारीको बाटो हिँड्दा सितेजुका लागेको सम्झिएँ, तर यहाँ ठाउँको नाम मात्रै त्यसो रहेछ । हामी सफा सलक्क बाटोमै हिँड्यौँ र बाटासम्म सानो भान्जो लिन आए, कान्छी बहिनीका घरमा पुग्यौँ । डिल्ली सरकी बहिनीको घर उहाँलाई सबैले चिनेकै थिए, दुर्गा सर पनि त्यसै ठाउँको स्कुलबाट एसएलसी दिनुभएको परिचित नै हुनुभयो । परिचय र सन्चो बिसन्चो म र सन्चा सँग पनि भयो । मिहिनेतपूर्वक आफ्ना स्रोतसाधनको सदुपयोग गर्दा मानिसले सुख पाउन विदेश पस्नै पर्दोरहेनछ । बहिनीको घर त्यही कुराको उदाहरण थियो ।दुई ससाना बालक स्कुल जाने । घरमा बाँकी रहने बहिनी र ज्वाइँ ।भर्खरै बनिसक्न लागेको घरमा रङ्गरोगन हुँदै थियो । आफूले सकेजानेको आफैँले गर्नु नै मनासिप हो । बारीमा सागतरकारी पनि लगाएकै छ । खेतीका मकै झन्डिएकै थिए । परालको थुप्रो पनि एकातिर देखिन्थ्यो । गोठमा दुहुने गाई पनि । दिनको र रातको समय उति नै हो सबैका लागि । जाँगरिला मानिसलाई समय नपुग्ने हुँदो रहेनछ । आफूले समय मिलाएर गर्दा यति काम भ्याइएकै छ भन्नुहुन्थ्यो बहिनी र ज्वाइँ । खाना खाएर जानुहोला भन्दै हुनुहुन्थ्यो । भर्खरै खाजा खाएको हुनाले एक एक गिलास अमृतमय दुधको मिठास लिँदै मनमनले उहाँहरुको कर्मनिष्ठाको प्रशंसा गर्दै अघि लागियो ।
अर्को विश्राम खावामा भयो । अबको पालो आफ्नै खुट्टाको । बाँसघारीदेखि नै दुर्गा सरलाई यसो हात उचालेर स्वागत गर्ने, मिचिक्क हाँस्ने, ‘आरामै’ भनेर सोध्नेहरु फाट्ट फुट्ट भेटिँदै थिए । त्यहाँ पुगेपछि कहिले, कता, बसिन्छ नि एक दुई दिन भन्ने प्रश्नवाचक वाक्य आए र दोहोरो कुराकानी पनि हुन थाल्यो । अब चाहिँ भमरकोटेको भमरकोट पुगिएछ भन्ने मनले लख काट्यो । अलिअलि उकालो । जाँदै गर्दा श्रीगणेश माविका सहायक प्रधान अध्यापक भीमसेन गिरी सरसँग भेट भयो । जिज्ञासा र जिस्क्यान पनि सँगसँगै गर्दै अगाडि लागियो । मन्दिर र विद्यालयको बाटो छुट्टिने ठाउँ आयो । भीमसेन सरले ‘‘विद्यालयको कार्यक्रममा सरहरु सबै जना सहभागी हुनुपर्छ है’’ भनी निम्ता दिएर गन्तव्यतिर लाग्नुभयो भने हामी भमरकोट देवीका मन्दिरतिर लाग्यौँ । त्यसो त विद्यालयको निमन्त्रणाकै अवसरमा हाम्रो भमरकोट भ्रमण मिलाउनुभएको रहेछ दुर्गा सरले ।
भ्रामरी नामकी देवीले दैत्य संहार गरेको किंवदन्ती रहेछ । कोट भनेको किल्ला हो । त्यस ठाउँमा भमराहरु पनि मनग्गे हुँदा रहेछन् । संस्कृतमा भ्रमर भनेको भमरो हो । भ्रामरी भनेको पोथी भमरोको रुपमा देवी रहेकी हुनाले भ्रामरी देवी नाम भयो । उनी रहेको किल्लालाई भ्रमरकोट अथवा भमरकोट भनियो भन्ने अर्थ लगाउन सकिन्छ । अग्लो चुचुरामा थियो मन्दिर । ‘वारि जमुना पारि जमुना, जमुनाका फेदमा मनकामना’ भनेर गीत गाएको जस्तै त्यहाँबाट एकातिर काभ्रेदेवी र अर्कातिर पलाञ्चोक भगवतीको मन्दिर भएकाले जिल्लाको नाम नै काभ्रेपलाञ्चोक भएको भन्ने पनि त्यसै बेला सुन्न पाइयो । मन्दिरका उचाइबाट वरिपरिका पाँच छवटा छिमेकी जिल्लाहरु देखिँदो रहेछ । माथि चुचुरामा गएपछि म त्यहीँ बसेर वरिपरि हेर्दै थिएँ । साँच्चै नै नेपालका प्रत्येक पाइला पाइलामा देवीदेवताको बास । तिनको दिव्यता खोजी हुन बाँकी छ । यहाँ हरेक कणकणमा ईश्वरको जस्तो ऐश्वर्य अरु कुनै देशमा सायदै होला । पूर्वी नेपालको बुढासुब्बा तीर्थ वरिपरि बाँसको टुप्पो छैन, भमरकोटमा भमराको बस्ती विशेष रहेको छ । यस्तै यस्तै विशेषता हरेक ठाउँमा होला । त्यसको खोजी कसले, कहिले र कुन प्रयोजनले गर्ला ?
दुर्गा सर, मूलतिहुन सर र सन्चा जी तल ओर्लिएर आउनुभयो । दुर्गा सरले पहिले नै तयार गराएर मन्दिरकै आश्रममा राखेको सय किलो हाराहारीको ढलौटको घन्टालाई स्थानीय हरि सापकोटाजी लगायत अरु केही युवाहरुको सहयोगमा निकै मिहिनेत गरी ल्याउनुभयो । मन्दिर अगाडि पक्काका दुई खम्बामा धुरा हालेर ठिक्क पारेका ठाउँमा सबै जनाको होस्टे हैँसेमा सिक्रीले बाँधेर झुन्डाइयो । ‘‘भोलि शनिवार, जुन विद्यार्थीले पहिले आएर यो घन्टा बजाउँछ, उसलाई विद्यालयको कार्यक्रममा उपहार दिइनेछ’’ —भन्ने कुरा दुर्गा सरले सुनाउनुभयो । यस बेलासम्म तीन ठाउँबाट खाना खाने निम्ता आइसकेको थियो । पेटको ज्वाला शान्त गर्ने विषयमा माथि पनि कुरा भएकै छ । हितकारी कर्म चाँडै निर्वाह गरियो । खाईपिई बलियो भएपछि अबको पालो भने श्रीगणेश मावितिरको रह्यो ।
शुक्रवारको दिन, भोलिदेखि विद्यालयमा दसैँ र तिहारको बिदा हुने । विद्यालयबाट एसईई परीक्षामा सफल भएका विद्यार्थीहरुलाई बिदाई पनि गर्ने र दसैँतिहारको शुभकामना आदान प्रदान पनि गर्ने भनेर दुई कार्यक्रमको आयोजना रहेछ । धेरै प्रकारका प्रस्तुतिहरु हुनाले कार्यक्रम सुरु भइसकेको थियो । हामी पुग्दा नपुग्दै विद्यालयका प्रधान अध्यापक नारायणप्रसाद सापकोटा, उपप्रअ भीमसेन सर अनि विद्यालय परिवारका अन्य धेरै जनाले हामीलाई सम्मानपूर्वक कार्यक्रममा उपस्थित गराउनुभयो । दसैँको टिका, तिहारको देउसोभैलो र शुभकामना आदानप्रदान एवं विद्यालयबाट पढाइ पूरा गरेर जानेको बिदाइ पनि हेर्ने सुन्ने अवसरको पनि उपयोग गरियो । मबाट लिखित, सम्पादित र अनूदित पुस्तकहरु पढेको, घरमा राखेको हुनाले आज भेट समेत हुन पाउँदा धेरै खुसी लाग्यो भनी त्यहाँ प्रत्यक्ष कुराकानी गर्दै केही मित्रहरु रमाउनुभयो । आफ्ना प्रिय पाठक जनको प्रशंसाले मेरो मन हर्ष विभोर भयो । सायद त्यस दिनको सबैभन्दा धेरै समय त्यहीँ नै रमाइयो । त्यसो हुँदा पनि जसरी त्यो दिन बिदा हुने हतारले छटपटी लाग्दै थियो अहिले लेख्ता पनि उसरी नै लेख टुङ्ग्याउन छटपटी लाग्नाले विस्तृत रुपमा बयान गर्न सकिएको छैन । अब अर्को एउटा सानो कुरा छुटाइयो भने पछुतो नै होला भनेर अति सङ्क्षेपमा राख्ने प्रयास गर्दै छु ।
भमरकोट देवीको मन्दिरबाट देखिएको जस्तै दृश्य विद्यालयका भवनबाट देखिँदो रहेछ । कार्यक्रमकै बीचमा मौका मिलाएर विद्यालय परिवारका तर्फबाट गण्यमान्य जनसँग वरिपरि घुमेर हेरियो । कुराकानी पनि गरियो । एकातिर झिगु खोला थियो । यसको प्राचनीन नाम सुनमती गङ्गा भन्ने सुनियो । गाउँबस्ती, खेती, मकै पाक्न लागेका । यस्तै यस्तै हेर्दै कुरा गर्दा नेपालका अन्य ठाउँमा हुने र आफूले सुनेजानेका नामभन्दा भिन्न प्रकारका फलफूल त्यहाँ भएको सुन्न पाइयो । फलिट, मछाइनो, कालो चुलेसी, शङ्खरी बेल, पिठौली, कबाई, गुलाब जामुन, नुनढिकी, खज्यौरी, धाइरो, गाँडे काफल, तिमिलो यी कतिपय त्यस बेला कुरा हुँदा हुँदै टिपोट गरेका नाम हुन् । अरु पनि कतिपय नाम आएका थिए, ती बिर्सिएँ । यी त्यहाँ मात्रै पाइने फलफूल हुन् भनेको सुनेपछि लाग्यो नेपालका हरेक ठाउँमा यस्ता आफ्नै स्थानीय प्राकृतिक उत्पादन होलान् । तिनको खोजी र उपयोग गर्ने दिन कहिले आऊला ? अन्नबालीले सम्पन्न यस्ता ठाउँ नेपालमा सर्वत्र छन् । यिनको सम्मान कहिले र कोबाट होला ?
नाचागानको कार्यक्रमपछि दस कक्षा सकेका विद्यार्थीको बिदाइको कार्यक्रम हुन लाग्यो । विद्यालयले गरेको सम्मानका अतिरिक्त प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई दुर्गा सरले नगद पुरस्कार समेत दिनुभयो । अन्य कतिपय छात्रवृत्तिहरुको पनि घोषणा गर्नुभयो । यो शिक्षाप्रति गरिएको सम्मान हो । आआफ्नो सक्षमता अनुसार यसरी हातेमालो गर्न सबै अग्रसर हुने हो भने समाजमा शिक्षाबाट वञ्चित कसैले हुनु पर्दैन होला भन्ने लाग्यो । काम सानो वा ठुलो जे होस् तर आस्थाप्रति र आफू जन्मेको स्थानप्रति दुर्गा सरको स्नेह प्रशंसनीय देखियो । यसरी पूरै दिन भमरकोटमा बिताएपछि हामीलाई आआफ्ना घर फिर्ता हुन हतार भयो । घामले बेलुकीको सङ्केत गरे । दुर्गा सरको भाइको घरमा एकै छिन् निस्केर अनि जाने भन्दै त्यता लाग्यौँ । आज अबेला भयो, भोलि जानू भन्दै हुनुहुन्थ्यो । हामीले चाहिँ भाँचेर राखिदिएका हरिया मकै र टिपिदिएको ताजा तरकारीको झोला बोकेर एक एक गिलास दही पियौँ र रातोसाँझ भए पनि पुग्नै पर्ने भोलिको काम सम्झँदै फिर्ता भयौँ । अन्ठाउन्न वर्षपछि भमरकोट पुगेको सम्झना बोकेर अँध्यारो पारेर घरमा पसियो ।

तपाइँको प्रतिक्रिया ।