गगन, निर्मल र पासाङको मनोनयन पत्र दर्ता गराउन र्यालीको तयारी
कपन अनलाइनदेशमै सबैभन्दा बढि ध्यानाकर्षण गरेको काठमाडौं क्षेत्र नं. ४ मा उम्मेदवारहरुका छनौट प्रकृया पूरा भएसँगै पार्टीहरु कम्मर कसेर चुनावी अभियानमा लाग्ने तयारीमा जुटेका छन् । अघिल्लो संबिधानसभामा यस क्षेत्रबाट चुनाव जितेको नेपाली कांग्रेसले चर्चित युवा नेता ठूलो वादविवादपश्चात गगन थापालाई उम्मेदवारी तय गरेको छ । नेकपा एमालेले लामो समयदेखि यस क्षेत्रको संगठनमा काम गरेका युवा नेता निर्मल कुइँकेललाई उम्मेदवार बनाएको छ । उनी एमालेका काठमाडौ. जिल्ला अध्यक्ष पनि हुन् । त्यसैगरी कपनमा लामो समयदेखि अस्थायी रुपमा बसोबास गरिरहेका एमाओवादीका केन्द्रिय सदस्य नन्द किशोर पुन पासाङलाई एमाओवादीले उम्मेदवारी बनाएको छ । उनी पूर्व जनमूक्ति सेनाको कमाण्डर पनि हुन् । गगन, निर्मल र पासाङबीचको त्रिपक्षीय चुनावी युद्धलाई सिंगो देशले सबैभन्दा चासोको विषय बनाएको छ ।
निर्वाचनको सबैभन्दा पहिलो स्टेपको रुपमा लिइने उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गर्न जाने कामलाई पनि पार्टीहरुले प्रतिष्ठाको विषय बनाएका छन् । तीनवटै पार्टीले धेरैभन्दा धेरै कार्यकर्ता बटुलेर मनोनयनपत्र दर्ता गर्न जाने कार्यक्रमलाई आकर्षक बनाउन तयारी गरिरहेका छन् । कपनमा नै अस्थायी बसोबास गरिरहेका एमाओवादी उम्मेदवार पासाङको निवासबाटै बाजगाजासहित र्याली बनेर चाबहिल पुग्ने कार्यक्रम रहेको क्षेत्रीय चुनाव प्रचार समितिका सचिव मुरारी भण्डारीले बताएका छन् । चाबहिल पुगेपछि यस क्षेत्रका सबै गाविस र वडाबाट आएका कार्यकर्ताहरुसँग निर्वाचन आयोग पुग्ने कार्यक्रम एमाओवादीले राखेको छ ।
नेपाली कांग्रेसले क्षेत्रका हरेक इकाइबाट छुट्टा छुट्टै बाजागाजासहितको र्याली लिएर गगन थापाको निवासमा पुगेर उम्मेदवारलाई लिएुर निर्वाचन आयोग जाने कार्यक्रम राखेको छ । कपन इकाइ सभापति विनोद चालिसेले फोन गरेर कपन अनलाइनलाई जानकारी गराए अनुसार कपन ३ बेखस्थित पार्टी कार्यालयबाट बाजागाजासहित बिहान ११ बजेदेखि र्याली निकालिने छ । मोटरसाइकल र्याली पनि हुने जानकारी चालिसेले दिएका छन् ।
नेकपा एमाले कपनले भने आफ्ना सबै कार्यकर्तालाई निर्वाचन आयोगमा नै बोलाएको छ । कपन एमाले अध्यक्ष ध्रुवराज न्यौपानेको अनुसार जयवागेश्वरी ८ नं. वडामा रहेको निर्मल कुइँकेलको निवासबाट एक विशेष र्याली बाजागाजासहित निर्वाचन आयोग जानेछ ।