अस्ताउँदो जीवनका रङ्गहरु !
कपनअनलाइन
काठमाडौं,कार्तिक २९।सविता पोखरेल/ कविता
एकदिन साथी,
सूर्य अस्ताउनलाई रातो भएको रहेछ,
त्यो रङले छाएको उमङ्ग सूर्यास्तसम्म रह्यो
त्यो पल यादगार छ,
जतिबेला म क्वाँ क्वाँ रोएको थिए
मैले देखेको सुनौलो दृश्यसँगै सूर्य अस्त भयो भनेर
त्यसैले साथी,
सुर्य अस्ताईसँग डर लाग्छ
तिम्रो हाँसो र राम्रो व्यवहारले म धन्य छु
तर, त्यो सूर्यको रातो रङ्ग
र तिम्रो साथले दिने खुशीसँग समानता देख्छु
अनि बाई बाईसँग डर लाग्छ
साथी, विदाईसँग डर लाग्छ
सूर्य अस्ताईसँग डर लाग्छ
आजकल हिउँदमा सूर्य उदाउँदा पनि उत्ति रमाउँदीन म
तिमी मेरै साथमा हुँदा पनि उत्ति रमाउँदीन म
सूर्योदय र सूर्यास्तको चक्र चलेको हेर त
हिजैको सूर्य आज पनि उदाउँछ
उदाएको सूर्य अस्ताउँछ
साथी,
हिजोको तिमी र म
समयसँगै बदलिन्छौं
तर पनि लाग्छ सबै कुरा
जस्ताको त्यस्तै हुन्छ ।
साथी,
जिन्दगी कर्कलाको पातमा जलकणको बसाईजस्तो
त्यसैले शक्ति हुञ्जेल केही गर्छु भन्ने लाग्छ
तथापी, मलाई कदापी मर्छु भन्ने लाग्दैन
जतिबेला, छाला मुजा मुजा पर्छ
छाती लत्रन्छ र तल झर्छ
पाइला अटेरी भई सर्छ
केश फुल्छ अनि पिर पर्छ
हरेक अंग बेढङ्गले काम गर्छ
सायद, त्यतिबेला मलाई म केही गर्छु भन्ने लाग्दैन
सायद, त्यतिबेला केवल मर्छु भन्ने लाग्छ ।