परिचित अपरिचित परिचित !

परिचित अपरिचित परिचित !

कपनअनलाइन

काठमाडौं,कार्तिक २२ ।  प्रशुराम अधिकारी/ कथा

ऊ कर्मकाण्डी उपाध्याय ब्राह्मणकी छोरी । उसका बुबा गाउँमा सबैले मानेका पुरोहित र थोरबहुत ज्योतिसी पनि । सशस्त्र द्वन्द्वका कारण उनीहरु गाउँमा टिक्न सकेनन्, काठमाडौँ आए । काठमाडौं चावहिलमा दुईटा कोठा खोजेर बसे । पशुपतिमा बसेर र जजमानका गएर धन्न कोठा भाडा र खान–लाउन टुमटुम पुगेकैथ्यो । उसकी दुइटी दिदी र एउटा भाइसहित छ जनाको परिवार एउटै बाबुको कमाईबाट चलेकैथ्यो ।
छोरीहरुले सहरमा त राम्रो पढ्छन् । जागिर गर्छन् घरखर्च सहयोग गर्छन् । बिहेखर्च जोहो गर्छन्, बाबुआमाको आश । तर उसका दुइटै दिदीहरुले एसएलसी पनि नसक्दै आफु आफुले केटो रोजे । बाबुआमाले पनि बाहुन जात बाहेक अरु केही हेरेनन् । टिको लाउदै पठाइदिए ।
उसले एसएलसी पास गरी, एघार बाह्र पनि पढी । केटो रोजेको, केटाहरुसँग बरालिएको देखिएन ।
‘अब हामीलाई यसैले हेर्छे ।’ बाबु आमा निकै ढुक्क थिए । भाई सानै थियो ।
उसलाई पनि बाबुआमाको दुःख, भाईको पढाई सम्झदा निकै चिन्ता लाग्थ्यो । आफ्नो पढाई र भविष्यको सपना छदै थियो ।
ऊ जागिर खान निकै भौतारिई । धेरै जनालाई खोजी दिन अह्राई । उसका बुबाले पनि निकै जनालाई भने अह भने जस्तो जागिर भेटिएन । केही लागेन, एउटा सहकारीमा पैसा उठाउने काम पाइयो । त्यही भएनी गर्न थाली पछि त्यही सहकारीमा क्यासिएरमा बढुवा भई ।
सामान्य आम्दानी, केही खर्च आफुलाई राखेर ऊ सबै कमाई बुबालाई दिन्थी । आफ् पढ्ने र भविष्यको लागि पैसा जोहो गर्ने योजनालाई थाती राखी ऊ काममा तल्लीन थिई ।
कोठाबाट आधाघण्टाको हिडाइमा ऊ अफिस पुग्थी । केही समयदेखि उसले बाटोमा एक युवकलाई ख्याल गर्न थाली । ऊ देख्दा निकै ह्याण्डसम, निकै भलाद्मी लाग्यो उसलाई ।
हरेक दिन जसो ऊ बाटोमा भेटिन्थ्यो । उसको हाउभाउँ, उसको चालचलन, उसको बोलिवचन गुप्त नियाल्थी ऊ । तर उनीहरुबीच बोलचाल थिएन ।

कहिलेकाँही ऊ आफै दङ्ग पर्थी र मनमनै विना आवाज ‘एउटै बाटो सँधै भेटघाट भइरहँदा …….’ भन्दै गुनगुनाथी ऊ । यो गित गुनगुनाउँदा मन त्यसै तरङ्गीत हुन्थ्यो ।
कहिले वर्षौ देखि चिने जस्तो त कहिले भर्खरै देखे जस्तो परिचित अपरिचित त्यो युवक उसको मनमा घुमिरह्यो ।

एकदिन ऊ घरबाट अफिस जाँदै थिइ । मनमा उसँग बोलु बोलु लागिरहेको थियो । खै के भनेर बोलु के भनेर बोलाऊ …. सम्झदै बाटोमा हिड्दै थिई । बोल्न त निकै दिन देखि मन लागेको थियो । तर अह आटै आएन, हिम्मतै जुटेको थिएन । आज पक्कै बोल्छु, हिम्मत बटुलेर हिड्दै थिइ ऊ । भित्रभित्रै डरजस्तो, लाजजस्तो अनुभूति भैरहेको थियोे ।
आज ऊ सँधै देखिने ठाउँमा देखिएन ।
‘कतै लुकेको छ की आज त उसैले पो बोलाउँछ की’ भैरहेको थियो उसलाई ।
बाटोमा अलिपर एकहुल मान्छे देखिए ।
‘के भएछ ?’ ऊ पनि नजिक पुगी ।
तिन चार जना मान्छेहरुले एउटा मान्छेलाई झ्यानाकुटु पार्दै बोकेर ट्याक्सीतिर दौडाए । त्यो मान्छेको टाउकोबाट रगत बगिरहेको थियो र जिउमा हिलो लतपतिएको थियो ।
‘के भयो ?’ कसैलाई सोधिन उसले ।
ट्याक्सीभित्र छिराउनै लाग्दा उसले त्यस मान्छेको अनुहार प्रष्टै देखि त्यो त्यही युवक थियो ।

ऊ अफिस पुगी उसमा एक किसिमको वेचैन बढीरहेको थियो । ‘के भएको होला उसलाई …?’ बारम्बार यही प्रश्न खेलाउथी ऊ र आफैलाई सोध्थी – ‘त्यस अपरिचित प्रति म किन यति धेरै परिचित जस्तो छु ?’
बेला बेलामा आफ्नो चिन्ताबाट पन्छिन्थी – ‘को हो र ऊ, किन उसका बारे म सोचीरहु ।’ जवरजस्ती ऊ आफुलाई घर–व्यवहार, बुबा–आमा, भाई अनि पढाई र आफ्नो भविष्यतिर ध्यान मोड्न खोज्थी । भविष्यतिर एक्लै दौडिदा दौडिदै धेरै मान्छेहरुसँगै त्यो युवक पनि उसको बाटोमा देखा पथ्र्यो । त्यस युवकलाई अपरिचित र अन्जान भन्दै आफै जवरजस्ती बाटो छल्न खोज्थी ।
केही दिन पछि उसकी एक साथी स्कुटर दुर्घटनामा परि सबै साथी मिलेर हस्पीटल लगे । टाउकोमा पनि चोट लागेकाले उसकी साथीलाई हस्पीटलमै भर्ना गरियो ।
भोलीपल्ट ऊ साथीलाई भेट्न हस्पिटल गई । साथीसँगैको बेडमा कोही परिचित जस्तो मान्छे देखियो । झलक्क देख्ने बित्तिकै उसले चिनीहाली ऊ त्यही अपरिचित युवक थियो । ‘के भएको तपाईलाई ?’ उसले पहिल्यै परिचित जसरी उसलाई सोधी । युवकले पनि आफुलाई भएको बिमार, कसरी भयो सम्म बतायो ।
ऊ निकै दङ्ग थिई किनकी निकै दिन देखि बोल्न खोजेको मान्छेसँग ऊ बल्ल आज संयोगले बोलेकी थिई । ठानी अब त बोल्ने पनि बाहाना भयो । तर उनीहरुबीच अझै पनि औपचारिक परिचयको आदानप्रदान भएकै थिएन ।उसकी साथीले सोधी –‘चिनेको मान्छे हो ?’
ऊ अलमल्ल परी के भन्ने के जवाफ दिने ? केही बेरको अलमल पछि भनि –‘हैन, सँधै बाटोमा देख्थे ।’
उसकी साथीले व्यङ्ग्य कसी –‘बाटोमा भेट्ने मान्छे जति सबैसँग बोलेर भ्याउँछेस् तँ ?’
ऊ एकछिन अक्क न बक्क भई ‘हस्पिटलमा देखेर बोलेको …’ साथीको जिज्ञासा मेट्ने प्रयास गरी ।
भोलीपल्ट साथीलाई भेट्ने बाहानामा ऊ हस्पिटल गई । उसकी साथीसँगै रहेको त्यो युवकको बेड खाली देखेर ऊ झस्की । हतारिदै साथीलाई सोधी । साथीले भनी –‘ऊ त हिजै डिस्चार्ज भएर गइसक्यो ।’

उसलाई भेट्ने आश गर्दै बाटाभरी आँखा घुमाउँदै ऊ अफिस जान्थी । निकै दिन ऊ देखिएन । केही दिनपछि ऊ बाटोमा देखियो । ऊ हतारिदै उसको छेउमा पुगी र सोधी –‘तपाईलाई कस्तो छ अहिले ?’
ऊ निकै जोशिलो भएर बोल्यो –‘म त निकै तगडा भै सके । बरु भन्नुस् तपाईलाई कस्तो छ ?’
जवाफमा ऊ दाँत देखिने गरी फिस्स हाँसी । उसको त्यो जोशिलो आवाजमा उसले मिठास मात्रै भेट्टाइन, एक किसिमको आकर्षक व्यक्तित्व र बलियो सम्बन्धको आभास भेट्टाई र त्यहीनेर सम्बन्धका सम्भावनाहरुको खोजी गर्न थाली ।
उसले थप्यो –‘म तपाईसँग परिचित हुन चाहान्थे । के यो सम्भव छ ?’

‘यसमा असम्भव भन्ने कुरा नी हुन्छ र ?’ ऊ मनैदेखि प्रफुल्लीत देखिई । उसले थप्यो –‘धेरै दिन देखि तपाईसँग केही भन्न मन लागिरहेको थियो ।’‘हुन्छ भन्नुस् न ।’‘हैन अहिले तपाईलाई हतार मलाई नि हतार भोली भेटुम न है ।’
भोली बिहान भेट्ने र परिचयको औपचारिकता पुरा गर्ने तयासँगै उनीहरु छुटे ।

तपाइँको प्रतिक्रिया ।