प्रारम्भिक सर्वेक्षणः क्षेत्र नं. ४ मा गगन थापाभन्दा पासाङ निकै कमजोर

कपन अनलाइनकाठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका गगन थापाले एमाओवादीका नन्दकिशोर पुन पासाङभन्दा ५००० मत बढि ल्याउने प्रारम्भिक सर्वेक्षणमा देखिएको छ । पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुन पासाङ र चर्चित युवा नेता गगन थापाका कारण अत्याधिक चर्चामा रहेको काठमाडौं क्षेत्र नं. ४ मा कसले चुनाव जित्ने भन्ने कुरा सबैको चासोको विषय बनेको बेलामा यो सर्वेक्षण सार्वजनिक भएको हो । सर्वेक्षणले पासाङको जनाधार कमजोर रहेको देखाएको छ ।  पासाङ अस्थायी बसोबास गरिरहेको कपनमा समेत उनको मतदाता एमालेभन्दा कमजोर रहेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणले यस क्षेत्रबाट गगन थापाले निर्चाचन जित्ने देखाएको छ ।

 

निर्वाचनको मुखमा विभिन्न निर्वाचन क्षेत्रमा गएर विभिन्न व्यक्ति, समूह तथा संस्थाले निर्वाचन परिणामको सर्वेक्षण गर्ने प्रचलन अनुरुप देशैभर प्ररम्भिक सर्वेक्षण भैरहेका छन् । काठमाडौं क्षेत्र नं. ४ चुनावी सर्वेक्षण गरेको एक समूहको प्रतिवेदन कपन अनलाइनले प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तरमा अध्ययन गरिरहेका १८ विद्यार्थीले काठमाडौं जिल्ला क्षेत्र नं. ४ मा आगामी निर्वाचनमा हुनसक्ने मतदानको प्रारम्भिक सर्वेक्षण गरेका हुन् । ६ दिन लगाएर गरिएको सर्वेक्षणमा एमाओवादीको उम्मेदवार नन्दकिशोर पुन, नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भनिएको छ भने एमालेको उम्मेदवारको रुपमा विद्यादेवी भण्डारी लेखिएको छ ।

 

सर्वेक्षणमा यस क्षेत्रका ८ वटै इलाकाका ४००० मानिसलाई “कसलाई भोट हाल्नु हुन्छ ?” भनेर मौखिक प्रश्नसमेत गरिएको उल्लेख छ । अध्ययनको स्रोत सन्दर्भमा निर्वाचन आयोग, एमाओवादी, नेपाली कांग्रेस र एमाले पार्टीको सम्बन्धित क्षेत्रीय कार्यालयलगायतका संस्था र व्यक्तिको नाम उल्लेख छ ।
सर्वेक्षणमा उल्लेख गरिएको सबैभन्दा महत्वपूर्ण पक्ष काठमाडौं क्षेत्र नं. ४ को ४ गाविस र ४ महानगरपालिकाको वडाहरुमा कुनै पनि ठाउँमा एमाओवादीले पहिलो स्थानमा मत ल्याउने नसक्ने उल्लेख गरिएको छ । चपली र कपनमा एमाओवादीले दोस्रो धेरै मत ल्याउने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनले कपन, चुनिखेल र चपलीमा एमालेले सबैभन्दा बढि मत ल्याउने उल्लेख गरिएको छ । त्यसैगरी महाँकाल गाविससहित ४ वटै महानगरपालिकाको वडामा कांग्रेसले सबैभन्दा बढि मत ल्याउने उल्लेख छ । महानगरपालिकाको वडा नं. ७ मा कांग्रेस र एमालेको करिब बारबरी अवस्था रहेको देखाइएको प्रतिवेदनमा वडा नं. १ र ३३ मा एमाओवादीको अवस्था निकै कमजोर देखाइएको छ ।
सर्वेक्षणमा मतदातको संख्याको हिसाबले सबैभन्दा ठूलो क्षेत्रको रुपमा रहेको कपन गाविसमा विद्यादेवी भण्डारी उठ्दा पनि नेकपा एमाले सबैभन्दा ठूलो दलको रुपमा राखिएको छ । कपनबाट एमालेले ४५०० देखि ४८०० मत ल्याउने सर्वेक्षणमा उल्लेख छ । त्यसैगरी दोस्रो स्थानमा एमाओवादी रहने र सो पार्टीले ४१०० देखि ४५०० मत ल्याउने उल्लेख छ । ५००० मत बढि ल्याएर जित्ने भनिएको कांग्रेसलेचाहि यो गाविसमा ३२०० देखि ३५०० मत मात्र ल्याउने उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।