‘कृ’ को ६ दिने कलेक्सन सार्वजनिक ५ करोड ग्रस

‘कृ’ को ६ दिने कलेक्सन सार्वजनिक ५ करोड ग्रस
कपन अनलाइन 
काठमाडौ,फागुन ३। शुक्रवारबाट देशभर प्रदर्शनमा उत्रिएको युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ को ६ दिने कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । बिहीवार राजधानीमा पत्रकार भेटघाट गर्दै निर्माण यूनिटले फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।
दर्शकलाई धन्यवाद दिँदै निर्माता सुवास गिरीले फिल्मको ६ दिने कलेक्सन ५ करोड ४४ लाख रहेको बताए । यसबाट निर्माताले २ करोड ४० लाख शेयर प्राप्त गर्नेछन् ।
‘कृ’ ले पहिलो दिन देशभरबाट कूल ९५ लाख ६५ हजार २ सय ४८ रुपैयाँ, दोस्रो दिन १ करोड ७७ लाख ६४ हजार ७ सय ६३ रुपैयाँ, तेस्रो दिन ६६ लाख ६८ हजार ७ सय २५ रुपैयाँ, चौथो दिन ५६ लाख १९ हजार ९ सय, ९३ रुपैयाँ, पाँचौ दिन ८५ लाख ७९ हजार ५ सय ४५ रुपैयाँ र छैठौं दिन ६२ लाख ९५ हजार ८ सय ६० रुपैयाँ कलेक्सन गरेको निर्माता गिरीले जानकारी दिए ।
यस्तै, निर्माताले फिल्मको ओभरसिज राइट्स ८० लाख र ब्राण्डबाट ५० लाख रुपैयाँ हात पारिसकेका छन् । निर्माता गिरीले भने, ‘६ दिनेको कलेक्सनसँगै अब हामी सुरक्षित भएका छौ । अब फिल्मले गर्ने व्यापार हामीलाई नाफा हुनेछ ।’ पहिलो हप्ता ‘कृ’ ले देशभर १ सय १८ पर्दा पाएको थियो ।
फिल्मका अर्का निर्माता भुवन केसीले ‘कृ’ लाई मिलेको दर्शकको उत्साहजनक साथले आगामी दिनमा अझ राम्रो फिल्म बनाउन प्रोत्साहन मिलेको बताए । उनले भने, ‘हामीले निकै महंगो लागतमा फिल्म बनायौं । हामीले के थाहा थियो भने राम्रो फिल्म बनाए दर्शकले मन पराउनुहुन्छ । ‘कृ’ ले त्यो प्रमाणित गरेको छ । दर्शकको यो साथले भोलीका दिनमा झन ठूलो लागतमा फिल्म निर्माण गर्ने जोश थपेको छ ।’
फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक कार्यक्रममा अनमोल केसी भने अस्वस्थ भएका कारण उपस्थित भएनन् । नायिका अदिती बुढाथोकीले आफूलाई पहिलो फिल्मबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले खुसी मिलेको बताइन् । यस्तै, निर्देशक सुरेन्द्र पौडेलले आफ्नो मिहिनेत रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिए । ‘कृ’ भोली शुक्रवारबाट दोस्रो हप्तामा लाग्दैछ ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।
‘कृ’ मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।
तपाइँको प्रतिक्रिया ।