मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने

मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने

कपन अनलाइन 

उर्लाबारी, मोरङ, ३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । आज अपराह्न ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी भइरहेको १ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बुधबार प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले राईलाई मुख्यमन्त्री नियुक्तिपत्र प्रदान गरेका थिए ।

राई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्री राईले शपथग्रहण गरेलगत्तै आज नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री राईलाई प्रदेश प्रमुख तुम्बाहाङले शपथग्रहण गराउनेछन् ।

तपाइँको प्रतिक्रिया ।