१९-२० वर्षेहरु समाजसेवामा

कपन अनलाइनटिनएजका युवाहरु सामान्यतया समाजमा रमाएका देखिदैन । पढाई र रमझममा नै व्यस्त हुन्छन् उनीहरु । न उनीहरुलाई गाउँमा के भयो भन्ने चासो हुन्छ न चुनावमा भोट हाल्न नै उनीहरु महत्व दिन्छन् । वर्तमान समाजको परिवेशप्रति आम टिनएजका युवाहरु निरुत्साहित हुन्छन् । प्लस टु सकेर वा ब्याच्लर सकेर बिदेशिनुतिर यिनिहरु लालयित हुन्छन् । यही उमेरमा कतिपय युवाहरु कुलतको शिकार पनि भएका छन् । वर्तमान नेपाली समाजमा युवाहरु समाजप्रति उत्तरदायी भएर केही गरौं भनेर हिँडेका पाइँदैन । साना उमेरमा जिम्मेवार भएर आफ्नो समाजमा केही गरौं भनेर लाग्ने कपनका केही युवाहरुले कपन अनलाइनसँग भेटघाट गरे ।

 

१९-२० वर्षका युवाहरुका बारेमा राखिने आम मान्यताभन्दा पृथक समाजसेवामा लाग्ने अभियानमा जुटेका यी युवाहरु कपन १ र ३ का हुन् । भर्खर प्लस टु वा ब्याच्लर पढिरहेका युवाहरु समाजमा सकारात्मक सन्देश दिन अगाडि बढेका छन् । उनीहरु भन्छन् गाउँको बाटो विग्रियो वा गाउँ फोहर भयो भने हाम्रा हातहरु उठ्नुपर्छ, यहाँको सिस्टमलाई गाली गरेर समाधान खोज्न सकिदैन । आफ्ना उमेरका युवाहरु कुलतमा लागेकोमा चिन्ता छ उनीहरुलाई ।

 

कपन ३ मा रहेको नारायणचोक युवा क्लब र कपन १ मा रहेको जागरुक युवा क्लबका हाम्रा समाजमा कलिला उमेरका भनिने युवाहरुले कपन अनलाइनलाई भेटे । नारायणचोक युवा क्लबले कपन इतिहासमै पहिलोपट प्रथम पुरस्कार २५००० हजार राशीको फुटबल प्रतियोगिता आयोजना गर्दैछ । त्यसैगरी जागरुक युवा क्लबले यो भेकमा एउटा पुस्तकालय स्थापना गर्ने तयारी गर्दैछ ।

 

_MG_6751
नारायणचोक युवा क्लबका अध्यक्ष- सुशान्त लामा

दुवै क्लब जिल्ला प्रशासन कार्यालयमा हालै दर्ता भएका हुन् । नारायणचोक युवा क्लब गत बैशाखामा दर्ता भएको हो भने जागरुक युवा क्लब गत असारमा । नारायणचोक युवा क्लबको कार्यालय छैन, अध्यक्ष सुशान्त लामा काम गर्नलाई अफिस चाहिँदैन भन्छन् । उनको आफ्नै कोठा अफिस हो । कपनमा केही मै हुँ भन्ने संस्थाहरु जो काम कम भवन बनाउनमात्र जोड दिने गरिरहेका छन् उनीहरुलाई अप्रत्यक्ष झापड पनि हो यो । जागरुक युवा क्लबको भने अस्थायाी कार्यालय छ । कपन १ को राधाकृष्ण टोलसुधार समितिको कार्यालयमा हामी अटाएका छौं अध्यक्ष सागर कार्कीले भने । सागरलाई चाहिँ भवन मोह छ किनकी उनीहरु पुस्तकालयको अवधारणामा हिँडेका छन् । दुवै संस्था हाम्रो समाजमा अझै विद्यमान महिला हिंसा, बालश्रमजस्ता विषयमा कार्यक्रम ल्याउने सोचाइमा छन् । कपनमा रहेको आम अरु क्लबहरुभन्दा पृथक दुई क्लब मिलेर वा सहकार्य गरेर अगाडि बढ्दैछन् । फुटबल खेलमा जागरुक युवा क्लबले सहयोग गर्ने अनि पुस्तकालय बनाउन नारायणचोक युवा क्लबले ।

 

 

उनीहरुको यो काममा समाजको केही अग्रजहरुले साथ दिएका छन् । नारायणचोक युवा क्लबले अभिनेत्री सरिता लामिछाने, राजु सुनुवार र आशिष लामालाई सल्लाहकारको रुपमा राखेको छ । उहाँहरुको सल्लाहले नै हामी अघि बढ्न सकेको हो अध्यक्ष सुशान्त तामाङ भन्छन् नत्र हामी साना मानिसलाई कसैले नपत्याउने ठूलाले साथ दिएपछि सजिलो भएको छ । २० वर्षीय सुशान्त प्लस टु सकेर कपनकै चाहना कलेजमा लाइब्रेरियन पदमा काम गर्छन् । दोलखा काटाकुटीबाट उनको परिवार कपन आएको हो । उनी आफ्ना उमेरका साथीहरुलाई केही न केही काममा लागेको देख्न चाहन्छन् । उनलाई काम नभएपछि मानिस बिग्रन्छ भन्ने लाग्छ ।

 

उनीसँगै आएका साजन श्रेष्ठ नारायणचोक युवा क्लबका कोषाध्यक्ष हुन् । साजन पनि २० वर्षका भए । सिन्धुपाल्चोक टौथलीबाट कपन भित्रिएका साजन आफ्नो बुबाबो ग्रिल पसलमा काम गर्छन् । कोषाध्यक्ष भएका कारण २५००० हजार राशीको फुटबल गर्न सबैभन्दा ठूलो जिम्मेवारी उनमा पनि रहेको छ तर उनी चिन्तित छैनन् । काम तथा कार्यक्रम गर्न आँटेपछि पैसा जसरी पनि जुटि हाल्छ उनले पाको कुरा गरे ।

 

जागरुक युवा क्लबका अध्यक्ष- सागर कार्की
जागरुक युवा क्लबका अध्यक्ष- सागर कार्की

जागरुक युवा क्लबको फरक कथा छ । यस क्लबका अधिकांश सदस्य कपनमा त बसेर पनि स्थायी बसोबास छैन, उनीहरु भाडामा बस्छन् । अध्यक्ष सागर कार्कीको जन्म कपनमै भएको हो तर उनी भाडामा नै बस्छन् अझै पनि । दोलखा जिल्ला झ्याकु गाविस पुख्र्यौली हो तर उनी दोलखा पुगेका छैनन् । १९ वर्षे यी युवा थापाथली इन्जिनियरिङ क्याम्पसमा सिभिल इन्जिनियरिङ पढ्दै छन् । साना उमेरका युवाहरुलाई क्लबमा आबद्ध गराएर समाजप्रति जिम्मेवार बनाउन सकियो भने उनीहरुमा समाजभन्दा पर वा समाजविरोधी नबन्ने भएकोले उनीहरुलाई एकिकृत बनाउन चाहेका छन् सागरले ।

 

जागरुक युवा क्लबका उपाध्यक्ष दीपक सुनार फैकामा डेरा लिएर दिदीसँग बस्छन् । उनलाई कपन आफ्नोजस्तो लाग्छ । प्लस टु पढिरहेका यी दलित युवा अझै समाजमा जातीय विभेदको महशुस गर्छन् । उनलाई जात भनेको दुइवटा मात्र हुन्छ महिला र पुरुष भन्ने लाग्छ । समाजमा हुने बिभिन्न बिभेदमा जागरुक युवा क्लबले चेतनामूलक कार्यक्रम ल्याउनु पर्छ उनले थपे ।
जागरुक क्लबका रिनु र दावा दिदी भाइ हुन् । रिलायन्स कलेजमा बिबिएस पढिरहेकी रिनु सहसचिव पदमा छिन् भने भाइ दावा सदस्य हुन् । दावा पनि स्नाताक पढिरहेका छन् । उनी काराँतेका गुरु पनि हुन् र खेलाडी पनि । काभ्रे पुख्र्याेली घर भएको दिदी भाइ एक्लै गरे केही हुँदैन तर मिलेर गए धेरै काम हुने विचार राख्छन् । क्लबले धर्म संस्कृतिलाई समाजमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकोले त्यसतर्फ जागरुक युवा क्लब अगाडि बढेको उनीहरुले योजना बताए ।
जागरुक युवा क्लबले पनि एउटा सल्लाहकार समिति बनाएको छ जसले उनीहरुलाई सामाजिक बन्न उत्प्रेरणा प्रदान गरिरहेको छ । राधा खतिवडा, तोकबहादुर गुरुङ, किशोर तामाङ, शारदा सुवेदी, रेशम लामा र सूर्य खड्गीले समाजमा राम्रा काम गर्न उनीहरुलाई सल्लाह दिइरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।