रोबोटद्वारा सूचना प्रविधि मेला उद्घाटन

रोबोटद्वारा सूचना प्रविधि मेला उद्घाटन

कपन अनलाइन 

रत्ननगर, चितवन, २६ माघ । कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ ।

मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले वटम थिच्दा रोबोटमा जडान गरिएको कैँचीले रिबन काटेको थियो ।

सो क्रममा पोखरेलले सूचना र प्रविधि नै समृद्धिको आधार भएको भन्दै चितवनलाई सूचना र प्रविधिको हव बनाउनुपर्नेमा जोड दिए । उनले विभिन्न बाह्य देशको चमत्कारिक विकास, सूचना र प्रविधिका कारण नै भएको बताए ।

चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले अहिलेको अवस्थामा प्रविधिको विकासमा जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै सूचना प्रविधि विज्ञ हरि भण्डारीले सूचना प्रविधिको सही उपयोग गर्नसके विकासमा सहयोग पुग्ने बताए ।

उनले सरकारले आइटी क्षेत्रमा चासो कम दिएकोतर्फ ध्यानाकर्षण गराए । सूचना प्रविधि र मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न, नयांँ पुस्तालाई सक्षम, स्वावलम्बी र प्रविधिमैत्री बनाई जनशक्ति निर्माण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको क्यान, चितवनले जनाएको छ ।

‘चितवनको समृद्धिः सूचना प्रविधि’ भन्ने मूलनाराका साथ शुरु भएको मेला माघ २९ गतेसम्म चल्नेछ । मेलामा कम्प्युटर, मोबाइल, ल्यापटप, स्मार्ट टिभी, सफ्टवेयरलगायतका ८० वटा स्टल राखिएको छ । यस्तै सूचना प्रविधिसम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि सेमिनार, गोष्ठी, रोबोटिक प्रदर्शनी र गेमिङका स्टल रहने मेला आयोजक समितिका संयोजक भानु शर्माले जानकारी दिए ।

हरेक क्षेत्रको नेतृत्व गर्ने चितवनले अब सूचना प्रविधिको पनि नेतृत्व गर्नुपर्नेमा जोड दिए। मेलामा आउने अवलोकन कर्ताका लागि रु ५० र विद्यार्थीको लागि रु २५ को टिकटको व्यवस्था गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।