घुम्ती शिविरबाट पन्ध्रसयलाई नागरिकता
कपन अनलाइन
खोटाङ, २३ माघ जिल्लाका दुई गाउँपालिकाका एक हजार ५०० भन्दाबढीले आफ्नै घरदैलोमा नेपाली नागरिकता प्राप्त गरेका छन् । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जिल्लाका दक्षिणी क्षेत्रका विकट गाउँपालिकालाई लक्षित गरी सञ्चालन गरिएको घुम्ती शिविरबाट बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाभित्रका एक हजार ५१६ जनाले नागरिकता पाएका हुन् ।
गत शनिबारदेखि शुरु भएको घुम्ती शिविरबाट जन्तेढुंगा गाउँपालिकामा ७२७ र बराहपोखरी गाउँपालिकामा ७८९ जनालाई नागरिकता प्रदान गरिएको शिविर संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार शिविरमा नागरिकता पाएका तर विभिन्न कारणले अपांगता परिचयपत्र नपाएका जन्तेढुंगा गाउँपालिकामा १४१ र बराहपोखरी गाउँपालिकामा ११७ जना गरी २५८ जनालाई अपांगताको परिचयपत्र प्रदान गरिएको छ ।
शिविरमा दुई गाउँपालिकाका ५७३ जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिइएको जनाइएको छ । जन्तेढुंगा गाउँपालिकामा २६९ र बराहपोखरी गाउँपालिकाका ३०४ जनाले वैदेशिक रोजगारसम्बन्धी परामर्श लिएका हुन् ।
आफ्नै घरआँगनमा सुविधा पाउँदा स्थानीयवासी हर्षित भएको बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जाराले बताए। नागरिकता लगायतका सेवा पाउनेमा युवादेखि वृद्धवृद्धासमेत रहेका थिए ।
सुवेदी संयोजक रहेको शिविरमा महिला तथा बालबालिका कार्यालय प्रमुख भुवन राई, शाखा अधिकृत बाबुराम खत्रीलगायतको टोली रहेको थियो । जिल्लाका अन्य ठाउँमा पनि तत्कालै एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।