प्रधानमन्त्री देउवा सशस्त्र प्रहरी दिवस विशेष समारोहमा सरिक
कपन अनलाइन
काठमाडौं, माघ ९ ।
प्रधानमन्त्री शेरबहादुर देउवा ‘सत्रौं सशस्त्र प्रहरी दिवस २०७४’ विशेष समारोहमा सरिक भएका छन ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा माघ ९ गते आयोजित सशस्त्र प्रहरी दिवस विशेष समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री देउवाले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पगुच्छा चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।
उक्त विशेष समारोहमा मुख्यसचिव लोकदर्शन रेग्मी लगायत विशिष्ट अतिथि महानुभावहरुले समेत हार्दिक श्रद्धाञ्जली अर्पण गरे। कर्तव्यको बलिबेदीमा प्राणोत्सर्ग गर्ने अमर सशस्त्र प्रहरीहरुको सम्झनामा उक्त विशेष समारोहमा शोक सलामी अर्पण गर्नुका साथै एक मिनेट मौन धारणा समेत गरिएको थियो ।
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विशेष समारोहमा यसवर्षको उत्कृष्ट गण रनिङ्ग अवार्ड प्राप्त गर्ने सशस्त्र प्रहरी बल नेपाल दक्षिणकाली गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्यामकाजी कुवँर र उत्कृष्ट सीमा सुरक्षा कार्यालय रनिङ्ग अवार्ड प्राप्त गर्ने सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ऋषीदेव कार्कीलाई अवार्ड प्रदान गरे।
उनले सोही समारोहमा संगठनमा लामो समय सेवा गरी अनिवार्य अवकाश ग्रहण गरेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरे ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देश र जनताको सेवामा कर्तव्यरत रहँदा रहँदै बीरगति प्राप्त गर्ने अमर सशस्त्र प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै कर्तव्य पालनाकै क्रममा घाइते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरे।
उनले सशस्त्र प्रहरी बल नेपालले स्थापना कालदेखि नै मुलुकमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै सशस्त्र प्रहरी बल नेपाली जनताको मन मस्तिष्कमा बसिसकेको उल्लेख गरे।
सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानहरुको सुुरक्षा, विपद व्यवस्थापन लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति सुरक्षार्थ परिचालन देखि हालै सम्पन्न विभिन्न चरणका निर्वाचनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भविष्यका सम्भावित सुरक्षा चुनौतीहरुलाई सामना गर्न तमतयार रहनुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरी बल नेपाललाई आन्तरिक सुरक्षाको सशक्त अंगको रुपमा विस्तार गर्दै लगिने उल्लेख गर्दै फौजी मूल्यमान्यता र सेवा विशिष्टकरणको अवधारणा बमोजिम अगाडी बढिरहेको संगठनका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु आउदो दिनमा देश र जनताको सुरक्षार्थ अझै उच्च मनोवलका साथ लाग्नुपर्ने बताए ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा स्थापनाको छोटो अवधिमै सशस्त्र प्रहरी बल नेपाल देश र जनताप्रतिको सेवा र समपर्णका कारण जन मानसमा परिचित रहेको चर्चा गर्दै संगठनले यस अवधिमा स्थापनाको औचित्य पुष्टि गरिसकेको उल्लेख गरे ।
उनले संगठनलाई आजको अवस्थासम्म ल्याइ पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने सशस्त्र प्रहरी कर्मचारी तथा पूर्व नेतृत्ववर्ग एवं अग्रजहरुको प्रशंसा गर्नुकासाथै कर्तव्य निर्वाहको क्रममा बीरगति प्राप्त अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली एवं घाइते र अशक्तहरुको सिघ्र्र स्वास्थ्य लाभको कामना समेत गरे ।
सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु गरी ६० जनाले रक्तदान गरेका छन् ।
सशस्त्र प्रहरी दिवसको अवसरमा पटक पटक रक्तदान गर्दै आएका अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ठाकुरमोहन श्रेष्ठले सशस्त्र प्रहरी दिवसहरुमा आज चौधौं पटक रक्तदान गरेका छन ।
वर्ष जवान घोषणा, उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारी पुरस्कृत तथा सन्ततीलाई छात्रवृत्ति प्रदान
उक्त विशेष समारोह पश्चात सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उनले विभिन्न मितिमा अनिवार्य अवकाश प्राप्त गरेका सशस्त्र प्रहरी अधिकृतहरुलाई स–सम्मान विदाई गरे ।
सो अवसरमा गत फागुनमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राई, अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा. कृष्णकुमार तामाङ, अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षकद्वय दिवाकर के.सी. र नरेन्द्र कुमार सिंह लगायत अवकाश प्राप्त अधिकृतहरुलाई दोसल्ला र ताम्रपत्रसहित स–सम्मान विदाई गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले त्यसवअवसरमा बीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका १७ जना परिवारलाई कदरपत्र तथा सशस्त्र प्रहरी बल नेपालमा वर्षभरी उत्कृष्ट कार्य गर्ने ११ जना राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै विभिन्न समयमा नेपाल सरकारबाट विभिन्न विभूषण द्वारा विभूषित ३० जना एपीएफ अधिकृत तथा जवानहरुलाई उक्त विभूषणद्वारा शुशोभित गरे ।
अमर सशस्त्र प्रहरी कर्मचारीका ३२ जना सन्ततीहरुलाई सोही अवसरमा जनही २४ हजार रुपैयाँको दरले छात्रवृत्ति रकम प्रदान गरिएको छ । २०७३ सालको एसइइ परीक्षमा देशभरका सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक हासिल गर्ने वाहालवाला, अवकाश प्राप्त र बीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुका १० जना सन्ततीलाई समेत त्यसअवसरमा छात्रवृत्ति रकम प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले यस वर्ष ‘वर्ष जवान २०७४’ हुन सफल सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा कार्यरत सशस्त्र प्रहरी जवान डिल्ली भट्टराईलाई ‘वर्ष जवान’ ट्याग प्रदान गर्नुका साथै नगद १० हजार रुपैयाँ सहित पुरस्कृत गरे । यसरी घोषित वर्ष जवानलाई युएन मिसनमा समावेश गर्नुका साथै निजको एक सन्ततीलाई वार्षिक १२ हजार रुपैयाँका दरले १२ कक्षा अध्ययन गरुन्जेलसम्म छात्रवृत्ति प्रदान गरिनेछ ।
यसवर्षको उत्कृष्ट गुल्म रनिङ्ग अवार्ड प्राप्त गर्ने सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुला र उत्कृष्ट बोर्डर आउट पोष्ट घुस्की सुनसरीलाई सोही अवसरमा अर्वाड प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यमा सहयोग पुराउने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड् बालाजुका अध्यक्ष एवं महाप्रबन्धक नन्द किशोर बस्नेतलाई सोही अवसरमा सशस्त्र प्रहरी माहानिरीक्षक श्रेष्ठले कदरपत्र प्रदान गरे ।