मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवर्द्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवर्द्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

कपन अनलाइन

काठमाडौं असार ३१।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन यात्रामा सक्रिय योगदान गर्न आह्वान गरेका छन्। उनले नेपालको आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा जोड दिए।

 विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विदेशमा कार्यरत नेपाली पेशाकर्मीहरूसंगको छलफल कार्यक्रममा बोल्दै मन्त्री पुनले नवगठित मन्त्रालय अहिले “शून्यबाट सुरुवात” गरिरहेको बताउँदै यसको संस्थागत विकासका लागि स्वदेश तथा विदेशका नेपाली विज्ञहरूको सहकार्य अपरिहार्य रहेको बताए।

“हाम्रो उद्देश्य राष्ट्रको हित हुने र अर्थतन्त्रलाई बलियो बनाउने नवप्रवर्तनको विकास गर्नु हो,” मन्त्री पुनले भने। “विदेशमा रहेका सक्षम नेपालीलाई प्राथमिकता दिँदै उनीहरूको ज्ञान र अनुभवलाई नेपालसँग जोड्ने वातावरण निर्माण गर्नुपर्छ।”

उनले मन्त्रालयसँग हालसम्म समर्पित प्राविधिक टोली, स्पष्ट कार्य संरचना तथा आवश्यक कानुनी आधार तयार भइनसकेको स्वीकार गर्दै आगामी तीन महिनाभित्र संस्थागत संरचना निर्माणसँगै विश्वविद्यालयमा हुने अनुसन्धानलाई व्यावहारिक तथा उत्पादनमुखी अनुसन्धानमा रूपान्तरण गर्ने लक्ष्य रहेको बताए।

मन्त्री पुनले नेपाली विश्वविद्यालयहरूमा नवप्रवर्तन केन्द्र (Innovation Centre) तथा उत्कृष्टता केन्द्र (Centre of Excellence) स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै  गम्भीर अनुसन्धानमा संलग्न हुने अनुसन्धानकर्ताका लागि आवासीय सुविधा सहितका अनुसन्धान केन्द्र स्थापना गर्ने सोचाइ भै रहेको पनि जानकारी दिए ।

उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सम्बन्धी कानुन पुरानो भइसकेकाले त्यसलाई समयानुकूल परिमार्जन गर्न पहल सुरु गरिएको पनि जनाए ।

सूचना प्रविधि (आईटी) र कृत्रिम बौद्धिकता (एआई) नेपालका राष्ट्रिय प्राथमिकताका विषय भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत यी क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिए।

छलफलमा नेपाल तथा विदेशका प्रतिष्ठित वैज्ञानिक, अनुसन्धानकर्ता र नीतिविज्ञहरूले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई नेपालको आर्थिक विकासको प्रमुख आधार बनाउने विषयमा आ-आफ्ना धारणा राखेका थिए।

अष्ट्रेलियास्थित सीएसआईआरओ (खाद्य तथा कृषि) का परामर्शदाता तथा आरएमआइटी विश्वविद्यालयका प्राध्यापक डा. राजु अधिकारीले नेपालका लागि दीर्घकालीन विज्ञान तथा प्रविधि रणनीति प्रस्तुत गर्दै कृत्रिम बौद्धिकता, नवीकरणीय ऊर्जा, जैविक प्रविधि, जलवायु विज्ञान, कृषि प्रविधि, विपद् जोखिम न्यूनीकरण, उन्नत सामग्री, जल तथा वातावरणीय प्रविधि, रोबोटिक्स र अन्तरिक्ष प्रविधिलाई प्राथमिकताका क्षेत्रका रूपमा अघि बढाउनुपर्ने बताए।

 डा अधिकारीले  राष्ट्रिय विज्ञान तथा प्रविधि सह-लगानी कोष (National S&T Innovation Co-Investment Fund), उच्चस्तरीय विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन सल्लाहकार परिषद् तथा १० वर्षे राष्ट्रिय रणनीतिक मार्गचित्र निर्माण गर्न सुझाव दिए। उद्योग, विश्वविद्यालय र गैरआवासीय नेपाली (एनआरएन) समुदायबीच अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न तथा लगानीमैत्री कर नीतिको व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए।

डा. अधिकारीले सन् २०१९ को विज्ञान तथा प्रविधि नीति पुरानो भइसकेको, अनुसन्धानमा न्यून लगानी, कमजोर संस्थागत नेतृत्व, वैज्ञानिक पूर्वाधारको अभाव, प्रतिभा पलायन तथा नीतिको कमजोर कार्यान्वयन नेपालका प्रमुख चुनौती रहेको बताए।

तपाइँको प्रतिक्रिया ।