महानगरका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा सहिद सप्ताह मुल समारोह समिति गठन

महानगरका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा  सहिद सप्ताह मुल समारोह समिति गठन

कपन अनलाइन 

काठमाडौ,माघ ९।

यस बर्षको सहिद सप्ताह मनाउन महानगरका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ ।

समितिको उपसंयोजकमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ रहेकी छन  भने सदस्यहरुमा, महानगरको वडा नं. ७, १२, १५, र २६ वडा अध्यक्षहरु, महानगरका प्रमुख प्रशासकीय प्रमुख, बिभागीय प्रमुख, आयोजना तथा कार्यक्रम प्रमुख, नेपाली सेना, शशस्त्र प्रहरी, गृह मन्त्रालय, नेपाल स्काउटका प्रतिनिधि रहनुभएको छ । समितिको सदस्य सचिवमा नगर नायव प्रहरी उपरीक्षक धनपति सापकोटा हुनुहुन्छ ।

वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्वमा मनाइँदै आएको सहिद सप्ताह अन्तर्गत यस बर्ष पनि माघ १० गतेदेखि १६ गतेसम्म विविध कार्यक्रम आयोजना गरिनेछन् ।

जस अन्तर्गत माघ १० गते विहान ०८ः०० बजे टेकु खरिवोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभाबाट कार्यक्रमको थालनी हुनेछ । त्यस्तै माघ १३ गते विहान ०८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते विहान ०८ः०० बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान, शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ ।

माघ १६ गते सहिद दिवसका दिन बिहान साढे आठ बजे शान्तिबाटिका रत्नपार्कबाट प्रभातफेरी शुरु हुनेछ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी विहान नौ बजे सहिद स्मारक लैनचौरपछि ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तयार गरिएको छ ।

यस बर्षको सप्ताहलाई व्यवस्थित गर्न सरसफाइको जिम्मेबारी वातावरण व्यवस्थापन विभागलाई दिइएको छ भने झाँकीको व्यवस्थापन हनुमान ढोका दरबार क्षेत्र कार्यक्रमले व्यवस्थापन गर्नेछ । त्यस्तै सहरी पूर्वाधार विकास विभागले कार्यक्रम स्थलको रंगरोगन गर्नेछ । कार्यक्रम अवधिमा कार्यक्रम स्थल तथा रुट व्यवस्थापनको जिम्मा नगर प्रहरी महाशाखालाइृ दिइएको छ भने जनस्वास्थ्य विभागलाई स्वास्थ्य शिविर सञ्चालन गर्ने र सहिद दिवसका विषयमा  विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता गर्ने जिम्मेबारी शिक्षा बिभागलाई दिइएको छ ।

मूल समारोह समितिको आइतबार सम्पन्न बैठकले महानगरले स्थापना गरेको पुस्तकालयको नाम परिवर्तन गरी सहिद पुस्तकालय बनाउने निर्णयसमेत गरेको छ ।

समाचार साभार :काठमाडौँ अनलाइन (चन्द्रमणी भट्टराई )

तपाइँको प्रतिक्रिया ।