आमा सेतुली माया स्मृति वृत्तिबाट आनन्दित गृह सम्मानित

आमा सेतुली माया स्मृति वृत्तिबाट आनन्दित गृह सम्मानित

कपन अनलाइन 

पोखरा, ७ माघ । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराले यस वर्षको आमा सेतुली माया शाक्य स्मृति वृत्तिबाट पोखराको माटेपानीमा रहेको आनन्दित गृह नेपाललाई शनिबार सम्मान गरेको छ । दुई÷दुई वर्षमा वितरण गरिने सो पुरस्कारको राशि रु एक लाख र सम्मानपत्र रहेको छ । स्व आमा सेतुलीमाया शाक्यका कान्छा छोरा विश्वरत्न शाक्यले स्थापना गर्नुभएको रु १० लाखको अक्षयकोषको ब्याजबाट सो पुरस्कार वितरण गरिँदै आएको छ ।

प्रतिष्ठानले १० वर्षअघि स्थापना गरेको अक्षयकोषमा स्वदेश तथा विदेशमा रहेका ५०० भन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीले सहयोग गरेपछि अक्षयकोषमा हाल रु ५० लाख पुगेको प्रतिष्ठानका सचिव पशुपति श्रेष्ठले बताए ।

प्रतिष्ठानले यो पुरस्कारका साथै समाज क्षेत्र र ललितकलाको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्ति र सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार छात्रछात्रालाई पुरस्कृत गर्दै आएको छ ।

शनिबार नै आमा सेतुली माया शाक्यको ११औं पुण्यतिथिका अवसरमा विश्वरत्न शाक्य र उनको परिवारले आनन्दित गृह नेपालको अक्षयकोषमा रु एक लाख १०१ सहयोग गरेका छन ।

चट्याङ मास्टरको नामले परिचित हास्यव्यङ्ग्य कलाकार कृष्ण मुरारी गौतमले शनिबार आयोजित कार्यक्रममा पुरस्कृत संस्थाका अध्यक्ष हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा यज्ञमान शाक्यलाई पुरस्कार प्रदान गर्दै वृद्धवृद्धाको सुखमय जीवनयापनमा संस्थाले गरेको योगदानको सराहना गरे।

संस्थाका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वअध्यक्षहरु नारायण कार्की, भूपनिधि पन्त, डा कुमारशम्शेर राणा, पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, शिक्षाविद् जर्ज जोन लगायतका वक्ताले बोलेका थिए ।

तपाइँको प्रतिक्रिया ।