अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या

अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या

कपन अनलाइन 

मंगलबारे, इलाम, ४ माघ । इलामको पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या हुने गरेको छ । भारतसँगको इलामस्थित मुख्य नाका पशुपतिनगरमा पर्यटकले लिनुपर्ने पर्यटक अनुमतिपत्र यहाँबाट प्रदान नगरिँदा बाह्य पर्यटकलाई समस्या भएको हो ।

सो नाका हुँदै बंगलादेशलगायत अन्य देशबाट नेपाल भित्रिने पर्यटकलाई अनुमति लिनका लागि झापाको काँकडभित्ता नै पुग्नुपर्ने बाध्यता छ । भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि सो अनुमति नचाहिने भए पनि अन्य मुलुकबाट आउने पर्यटकले अनुमतिपत्र लिनुपर्ने हुन्छ ।

इलाममा अझ बढी पर्यटक भित्रिने भए पनि काँकडभित्ता पुग्नुपर्ने बाध्यताका कारण पशुपतिनगरबाट नेपालका पूर्वी क्षेत्र आउने सबै पर्यटक इलाम नआउने गरेका छन् । पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा नेपाली तथा भारतीय पर्यटन व्यवसायीलाई नै समस्या भएको उनीहरु बताउँछन् ।

इलाम पर्यटकीय जिल्ला हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटक गरी धेरै पर्यटक आउने गर्छन् । तर भारतको सिलिगुडी, दार्जिलिङलगायतबाट पशुपतिनगर हुँदै इलामको पूर्वी क्षेत्र भित्रिने पर्यटकले सानो कामका लागि पनि झापाको काँकडभित्ता नै जानुपर्ने बाध्यता छ । कति पर्यटक त समस्या बुझेपछि पशुपतिनगरबाट इलाम नै नछिरी त्यहाँबाट नै फर्कने गरेको सिलिगुडीका पर्यटन व्यवसायी बताउँछन् ।

सिलिगुडीबाट बंगाली पर्यटक लिएर नेपाल आउनुभएका पर्यटन व्यवसायी विनोद गुप्ताले चाँडै यो समस्या समाधान नभए आफूहरु र इलामका पर्यटन व्यवसायीलाई समेत घाटा हुने बताए । भारततर्फको फाटकमा भारतीय पक्षबाट सो कार्यालय स्थापना गर्न पहल गरे पनि नेपालको पशुपतिनगरतर्फ नेपाल सरकारले कुनै प्रक्रिया अघि नबढाएको उनले बताए ।

पशुपतिनगरबाट पर्यटक आवागमन गर्ने अनुमति प्राप्त हुन सके जिल्लामा पर्यटकको ओइरो लाग्ने पर्यटन व्यवसायी तथा होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेल बताउछन्। उनले भने, “हामीले धेरैपटक यो कुरा नेपाल सरकारसमक्ष पु¥यायौँ तर कसैले सुनेन ।” चाँडो सो स्थानमा आप्रवासन केन्द्र स्थापना गरिनुपर्ने इलामका पर्यटन व्यवसायी बताउँछन् ।

तपाइँको प्रतिक्रिया ।