किर्तिपुर नगरपालिका इतिहासमा बेग्लै परिचय बोकेको नगर हो :सरस्वती खड्का (उपप्रमुख ,किर्तिपुर नगरपालिका )

किर्तिपुर नगरपालिका इतिहासमा बेग्लै परिचय बोकेको नगर हो :सरस्वती खड्का (उपप्रमुख ,किर्तिपुर नगरपालिका )

कपन अनलाइन

काठमाडौ, माघ ३।

हामीले स्थानीय तहको निर्वाचित विभिन्न नगरपालिकाका उप प्रमुखहरुको ब्यबहारिक र प्रशासनिक जिम्मेवारीमा आउने कठिनाइ र अन्य विविध पक्षहरुमा केन्द्रित रहेर  कपन अनलाइनका विकल सापकोटाले किर्तिपुर  नगरपालिकाका उपप्रमुख सरस्वती खड्का संग गरिएको कुराकानी प्रस्तुत गरेका छौ ।

कपन अनलाइन : तपाइको पारिबारिक र शैक्षिक पृष्ठभूमि बताईदिनुहोस न ?

सरस्वती खड्का : । मेरो जन्म २०३८ साल जेष्ठ १० गते रसुवा जिल्लाको साबिक धैबुंग गाबिस वडा नं २ हाल  कालिका गाउपलिकामा भएको हो। मेरो बुवा इन्द्र प्रसाद रिजाल र आमा एककुमारी रिजाल हुनुहुन्छ । मेरो प्रारम्भिक शिक्षा श्री सुन्धरा प्रा बी धारापानी रसुवा बाट भयो।

त्यहा मैले ५ कक्षा सम्म अध्ययन गरे। त्यसपछि कालिका हिमालय माबी कालिकास्थान बिद्यालयबाट २०५४ सालमा एस एल सी उत्तीर्ण गरे ।त्यस पछि उच्च शिक्षा मैले रत्न राज्यमा मानविकी संकायमा स्नातक सम्म अध्ययन गरे । हाल स्नातकोत्तर जारि रहेको छ ।  मेरो सन्तानको रुपमा दुइजना एक छोरा एक छोरि रहेका छन भने श्रीमान राधाकृष्ण खड्का  ब्यापार गर्नुहुन्छ । घरमा सासु सहित ५ जनाको परिवार रहेको छ ।

कपन अनलाइन : राजनीतिमा कसरी आउनु भयो ?

सरस्वती खड्का :   म ६ कक्षा पढ्दा देखि नै त्यतिबेला हाम्रो बिद्यालयमा अनेरास्ववियु ,बिद्यार्थी संघ  भनेर  गठन हुन्थ्यो ।त्यतिबेला जानी नजानी राजनीतिमा प्रवेश गरियो। अन्जानमा नै राजिनितिमा लागियो पछि बुझ्दै गए पछी एमालेको भातृ संगठन नै भयो।

त्यो संगठनमा आवद्द रहेर काम गरे पछि बिद्यार्थी जीवन बाट नै मेरो राजनीतिक यात्रा सुरु भयो । कलेजमा हुँदा पनि अनेरास्ववियु बिद्यार्थी संगठन मै थिए।  पछिल्लो समय जुन अनेम संघ  काठमाडौँ जिल्ला क्षेत्र नं १० को सदस्य रहदै हाल उप प्रमुख भएकी छु ।

कपन अनलाइन : किर्तिपुर  नगरपालिकाको उपप्रमुख जस्तो जिम्मेवार पदमा रहेर आफ्नै पहलमा के के काम भएको छ ?

सरस्वती खड्का : यस नगरको लागि जुन न्यायिक समिति उप प्रमुखको जिम्मेवारी भनिएको थियो। त्यसमा न्यायिक समिति गठन गरियो  र पश्चात  यस नगर भित्र हाम्रो लग भग एक सय बीस वटा भन्दा माथिका मुद्दाहरुलाई हामीले मेलमिलापको माध्यम बाट किनारा लगाएका छौ ।

अर्को भनेको योजनाहरुको अनुगमन। जुन त्यो पनि उप मेयरको जिम्मेवारी हो। योजनाहरुको अनुगमन गर्ने कामहरु गरिरहेको छु। योजना अनुगमन गर्ने क्रममा योजनाका कामहरु कस्तो भएका छन् राम्रो छन् कि छैनन भनेर हेर्ने गरेको छु। अलिकति केहि कमि कमजोरी छन् भने निर्देशन दिने कामहरु गरिरहेको छु ।किर्तिपुर नगरपालिका नेपालको इतिहासमा बेग्लै परिचय बोकेको ऐतिहासिक नगर हो। त्यो गरिमा सम्झेर काम गरिरहेका छौ ।

त्यस्तैगरी हामीले स्वास्थ्य क्षेत्रलाई  स्वास्थ्य सम्बन्धि त्यसमा पनि बिशेष गरेर जेष्ठ नागरिकहरुको लागि पनि हामीले सुगर प्रेसरको औषधिहरु वितरण गर्ने काम गर्यौ।

हामीले सुगर प्रेसरको औषधि बितरण संगसंगै सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने काम पनि गरेका छौ। त्यसमा हामि संग किर्तिपुरमा भएका स्वास्थ्य संस्थाहरुले मात्र सम्भब छैन भनेर थप दुइ वटा शहरी स्वास्थ्य क्लिनिक हामीले तीन वटा बनाउने योजना अन्तर्गत अहिले  दुइ वटा अहिले उद्घाटन भइसकेको छ ।

कपन अनलाइन :कार्यसम्पादनको शिलशिलामा आग्रह पूर्वाग्रह र दवाब कत्तिको सामना गर्नु परको छ ?

सरस्वती खड्का : यो यस्तो रहेको छ २० वर्ष देखिको जुन जनप्रतिनिधि बिहिन रहेको अवस्थामा अहिले २० वर्ष पछी जनप्रतिनिधि आएका छन् ।जनताको इच्छा अपेक्षाहरु हामी संग धेरै रहेको छ।

त्यहि कारणले अलिकति अपेक्षित त भइनै हाल्छन। उहाहरुको अपेक्षालाइ एकदमै सहजताका साथ् बहन गर्ने गरेको छुर आफ्नो जिम्मेवारीमा  मैले एकदमै सहजता पुर्वक सकारात्मक रुपमा  लिने गरेको छु ।

अर्को भनेको यो नक्सा छ घर नक्सा सम्बन्धिको फाइलहरुको लागि अलि समस्या भयो भन्ने गरेका थिए ।त्यसलाई हामीले विधुतीय प्रणाली  बाट फाइलहरुलाई ब्यवस्थित गरेका छौ।

घर नक्सालाइ पनि एकदम सजिलो बनाएका छौ ।कुनै गुनासो भएमा कसैले केहि गरे भने काम गर्न ढिलासुस्ती गरे भने कसैले आर्थिक चलखेल गर्न खोजे भने हामी कहाँ तुरुन्त आउनुहोस हामी त्यस्तोलाई कारबाही गर्न तयार छौ भनेका छौ ।

कपन अनलाइन : अहिले सम्मको राजनीतिक र सामाजिक यात्रामा  मुख्य योगदान  कसको रहेको छ?

सरस्वती खड्का : यो पद सम्म आइपुग्दा म प्रेरणाको स्रोतको रुपमा   सामुदायिक  बन उपभोक्ता महासंघ नेपाल काठमाडौँ   फेकोफन लाइ नै दिन्छु। किनकि म एउटा फेकोफनको प्रोडक्ट नै हो भन्न चहान्छु।

महिलाको नेतृत्वदायी भूमिकामा  सामुदायिक बन महासंघले महत्व पूर्ण भूमिका खेलेको छ ।

त्यसपछि घर परिवार  मेरो श्रीमान मलाई बिश्वास गरेर यहाँ सम्म यो पद सम्म ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण किर्तिपुर नगरबासी नै हुन् । उहाहरुले जुन मलाई बिश्वास  गर्नु भएको छ। जुन काम जिम्मेवारी सुम्पनु भएको छ। म त्यो जिम्मेवारी र बिश्वासलाइ  कायम राख्दै अगाडी बढ्न चाहन्छु।

कपन अनलाइन :  उपप्रमुख भएपछि घर परिवार र कार्यलयमा जनताको काम गर्न समय ब्यबस्थापन कत्तिको चुनौती रहेको छ ?

सरस्वती खड्का : मेरो घर परिवार बाट सहयोग सपोर्ट भएर नै म उपप्रमुख  पद सम्म आइपुगेको हु। त्यसैले घर बाट सहयोग पाएको छु।

घर परिवार र कार्यलयको कामको तालमेल मैले राम्रो संग मिलाएको छु । प्रायजसो अफिसियल  भेटघाटको क्रममा कार्यलयमै भेट्छु  र घरमा बच्चाहरुको  लागि महिनाको एक दिन पुरा समय दिने गरेको छु।  अरु समय कार्यलयको लागि पार्टीको लागि दिने गरेको छु । परिवारको तर्फ बाट पनि सहयोग भएको हुनाले घरमा सपोर्ट रहेको छ।

कपन अनलाइन : अन्त्यमा नगरबासीलाई के भन्न चाहनुहुन्छ ?

सरस्वती खड्का : नगरबासीहरुले जुन आशा राखेर मलाई यस ठाउमा पुर्याउनु भएको छ।  उहाहरु प्रति जुन प्रतिबद्दता गरेका थियौ  त्यो प्रतिबद्धता अनुसारनै  हामी  नगरको बिकासमा लागेका छौ

सकारात्मक सुझाब दिनुहोला  नगरबासीले जुन अपेक्षा गर्नु भएको छ। त्यो अपेक्षालाइ मनन गरेर सहजताका साथ बिस्तारै त्यो अपेक्षा समस्याहरुलाई सुल्झाउदैलैजाने छौ  र किर्तिपुर नगरबासीले गरेको मार्गदर्शनको आधारमा हामी अघि बढ्नेछौ । म नगरबासीहरुलाई सहयोग गरिदिनुहोला भन्न चाहन्छु ।

 

तपाइँको प्रतिक्रिया ।