शास्त्रीय संगीतबाट आध्यात्म बाँड्दै कपन संगीत सरोवर

– दामोदर भट्टराई

सिमसिम पानी अनि चिसो बताससंगै चराहरुको चिरबिर आवजले यसै पनि कार्यक्रमलाई थप उर्जाशील बनाइरहेको थियो । सायद मानिसहरुले भन्ने गरेको आध्यात्मिक आनन्द नै यहि हो जहाँ प्रकृति पनि उन्मादमा छ ।
हार्मोनियमका धुनहरुसँगै तबलाको आवाजले हरेक मनको ढुकढुकीमा ताल मिलाइरहेको थियो । वन्दना गौतमको गायनमा अन्नत प्रजापतीको तबला वादन र साथमा अतुल स्मृति संगीत विद्यालयका प्रशिक्षार्थी कलाकारको प्रस्तुतिले साँच्चै नै कपनको वंगलामुखी मन्दिर गुञ्जायन भएको थियो । एउटै अवाज राम नामको आवाज । कपन संगीत सरोवरको यस पटकको कार्यक्रमको रौनक नै भक्ति संगीत अन्तर्गतको अतुल स्मृति संगीत विद्यालयको प्रस्तुति ४ः०० बजे बाट सुरु भएको थियो । मनहरु मग्न थिए आँखाहरु एक टह टोलाईरहेका थिए । कानहरुमा मात्र भागवत कुञ्जका वाक्यांशहरु गुञ्जिरहेका थिए वन्दना गौतमका स्वरहरुमा । कपन संगीत सरोवरले आफ्नो नियमित भक्ति संगीत कार्यक्रम अनुसार ८२ औं श्रृखलाको दृष्य हो यो ।

 

IMG_5881
प्रस्तुति दिँदै वन्दना गौतम

साँच्चै नै न त्यहाँ कुनै लोभ लालचको भाव छ, न कतै डाहा र रिसको भाव छ । न त कतै भौतिक सपनाकै । उपस्थित महिला तथा सज्जनको मुहारमा एउटै भाव देखिन्थ्यो सन्तुष्टिको, समर्पणको अनि परमआन्नदको । थाहा नै भएन कि ४ः०० बजे देखिको उनको प्रस्तुतिले २ घण्टाको समय गएको पत्तो न उनले पाइन न स्रोता अनि दर्शक ले नै पाए । २ घण्टाको समयमा ६ वटा भजन प्रस्तुत भइसक्दा पनि न कतै हतारो थियो न त कतै समयको चटारो थिया कसैलाई । सायद यहि नै हो आन्नद यहि नै हो सन्तुष्टि । हरेक महिनाको अन्तिम शनिबार आयोजना गरिने कपन संगीत सरोवरको नियमित कार्यक्रम बगलामुखी मन्दिरको परिसरमा यसरी नै धुमधामका साथ गुञ्जिने गर्दछ ।

 

६.०० बजे पछि स्टेजमा शरोद वादनको प्रस्तुति रहेको थियो र प्रस्तुतिमा थिइन चर्चित शरोद वादिका रुपा न्यौपाने । भजनमा रमाइरहेको माहौलमा शरोद वादनले झनै रौनकता बढायो । जहाँ तवलामा साथ दिइरहेका थिए कपनकै हनोहार पर्शुराम पौडेल । .शरोदको तारको झंकारले हरेक स्रोता तथा दर्शकलाई हल्लाइरहेको देख्न सकिन्थ्यो । बन्द आँखाकाबीचमा हात अनि खुट्टाले तालमा ताल मिलाइरहेको देख्न पाइन्थ्यो । साच्चै नै वातावरण यति मनमनोहक थियो कि त्यहाँबाट उठ्न मन सायदै कसैको थियो ।

 

करिब ७ः३० बजे सम्म चलेको यो कार्यक्रमले विशेष गरेर युवा पुस्तालाई उर्जा प्रदान गरिरहेको देख्न सकिन्थ्यो । भविष्यमा संगीतलाई नै आफ्नो पहिचान बनाउन लागिपरेका कपनका केहि युवाहरु यस कार्यक्रमलाई अत्यन्त रुचिपूर्वक श्रवण गरिरहेका थिए । कार्यक्रमको उत्कृष्टता यति रोचक थियो की समय समयमा साउण्ड सिस्टमको प्राविधिक समस्या देखापर्दा अनायासै धत् को अवाज पनि सुन्न पाइन्थो ।
भौतिक संसारमा नै रमाउने चाहने, अधिकांश समय अरुको चियोचर्चा अनि डाह र रिसको वातवरणमा नै रम्ने अहिलेको समाजमा कपन संगीत सरोवरले कम्तिमा केहि समय भएपनि यी सारा विषयबाट केवल आध्यात्मका लागि वाच्ने वातावरण निर्माण गरेको छ । जहाँ केबल सन्तुष्टि छ हरे राम हरे कृष्णको नाममा अध्यात्मिक सुखका । कार्यक्रमको अन्त्यमा आगामी भाद्र महिनाको अन्तिम शनिबार भेट्ने वाचाका साथ कार्यक्रम समापन गरियो ।
साच्चै नै कपन संगीत सरोवर भविष्यमा संगीत सर्जक र साधकहरुको सरोवर बन्न सकोस् कपन अनलाइनको तर्फबाट हार्दिक शुभकामना ।

तपाइँको प्रतिक्रिया ।