निर्वाचनमा पार्टी पराजित भएको खवरले ओखलढुंगाका गुरुंगको मृत्यु
कपन अनलाइन
काठमाडौ,मंगसिर २६।
ओखलढुंगामा भएको निर्वाचनमा पराजित भएको खवर सुनेर ३७ वर्षीय केशव गुरुङको मस्तिष्कघातका कारण निधन भएको छ ।
स्थानीय स्तरमा बाबु नामबाट चिनिने सिद्धिचरण नगरपालिका–४ का गुरुङ प्रतिनिधिसभामा काँग्रेसका युवा नेता रामहरी खतिवडा पराजित भएको खबर सुन्नेबित्तिकै ढलेका थिए । टाउको दुख्यो भन्दै ढलेका गुरुङलाई हेलिकोप्टरमा काठमाडौं ल्याइए पनि उपचार हुन सकेन । उनको राजधानीको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा निधन भयो । गुरुङ काँग्रेस निकट तरुण दलका क्षेत्रीय सभापति थिए ।
गत स्थानीय तहको निर्वाचनमा उनी सिद्धिचरण नगरपालिका–४ को वडा अध्यक्ष पदमा उम्मेदवार बनेर थोरै मतले पराजित भएका थिए । गुरुङको निधनमा दुःख व्यक्त गर्दै खतिवडाले भने ‘मेरो पराजयबारे खबर सुन्नेबित्तिकै ढल्नुभएछ, हेलिकोप्टर मगाएर काठमाडौं पठाइयो तर बचाउन सकिएन’, ।
गुरुङको पशुपति आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा काँग्रेस नेता प्रकाशमान सिंहले पार्टीको झण्डा ओढाएका थिए ।