डा. राजन भट्टराईले बिज्ञप्ति मार्फत मतदातालाई धन्यवाद दिए

कपन अनलाइन 

काठमाडौ,मंगसिर २३।

काठमाडौं क्षेत्र नं ४ मा बाम गठबन्धनका तर्फ बाट उम्मेदवार डा. राजन भट्टराईले आफ्नो क्षेत्रका सबै मतदातालाई धन्यवाद दिएका छन ।आफ्ना प्रतिद्वन्दी गगन थापालाई बधाई दिदै उनले निर्वाचन अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन। उनले  पराजयबाट कत्तिपनि विचलितनभएको र  सम्मानजनक हार–जीत लोकतन्त्रका विशेषता हुन् भन्ने कुरालाई  हृदयदेखि नै सम्मान गर्ने बताएका छन ।

हेर्नुहोस डा. भट्टराईको बिज्ञप्ति 

आदरणीय मतदाता महानुभावहरू,
यहाँहरूलाई अवगत भएकै कुरा हो – यही मङ्सिर २१ गते सम्पन्न निर्वाचनमा म काठमाडौँ क्षेत्र नं. ४ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिएँ । यस क्षेत्रको उम्मेदवारको रूपमा यहाँहरूले वाम गठबन्धन र मप्रति जुन खालको स्नेह र सद्भाव प्रकट गर्नुभयो त्यसका लागि म यस क्षेत्रका श्रद्धेय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
यस क्षेत्रमा विगत लामो समयदेखि हाम्रो पार्टी निरन्तर रूपमा यहाँहरूको सुखदुखको साथीका रूपमा रहँदै आएको छ । विगतमा पनि यहाँहरूले हामी र हाम्रो पार्टीलाई शुभेच्छासहित सहयोग पुर्याउदै यहाँहरूले विभिन्न समयमा आफ्नो मतद्वारा हामीप्रति अटुट विश्वास प्रकट गर्नुभएको छ । गत स्थानीय निर्वाचनमै पनि यहाँहरूको त्यही विश्वासका कारण हाम्रो पार्टी यस क्षेत्रमा विजयी बनेको थियो । यहाँहरूको यस किसिमको सद्भाव र विश्वास हाम्रा लागि सदा अविस्मरणीय रहने गरेको छ ।
प्रतिनिधिसभाको यस निर्वाचनमा पनि यहाँहरूले वाम गठबन्धवप्रति त्यही अटुट विश्वासका साथ आफ्नो मत प्रकट गर्नुभयो । विगतमा प्राप्त गरेको भन्दा उल्लेख्य रूपमै बढी मत दिएर यहाँहरूले अझै बढी विश्वास हामीप्रति व्यक्त गर्नुभएको छ । यसपटक प्रतिनिधिसभामा निर्वाचित हुन नसके पनि यहाँहरूले आफ्नो मतद्वारा हामीप्रति व्यक्त गर्नुभएको विश्वासलाई म कहिल्यै पनि विचलित हुन दिने छैन । यस क्षेत्रका जनताको मप्रतिको अपार विश्वासलाई अझै बलियो बनाउने काममा म लाग्ने छु । विगतमा झैँ आगामी दिनमा पनि यस क्षेत्रका जनताको सुखदुखमा साथदिँदै अगाडि बढ्ने कुरामा म रत्तिभर कमी हुन दिने छैन । यहाँहरूका हरेक समस्याको समाधानमा म पूर्ववत् सक्रिय भएर लाग्ने छु ।
म लोकतन्त्र र लोकतान्त्रिक विधि–पद्धतिप्रति विश्वास राखेर राजनीतिमा कृयाशील  रहेको छु । पराजयबाट म कत्तिपनि विचलित छैन । सम्मानजनक हार–जीत लोकतन्त्रका विशेषता हुन् भन्ने कुरालाई म हृदयदेखि नै सम्मान गर्छु । यही मान्यताका आधारमा मैले आफ्नो सम्मानजनक पराजयलाई स्वीकार गर्दै यस काठमाडौँ निर्वाचन क्षेत्र नंं.४ का जनता र आम नेपाली जनताको सेवामा सधैँभरि सक्रिय रहने अठोटलाई यसबेला फेरि पनि दोहोर्याउन  चाहन्छु ।
यस निर्वाचनमा आम मतदातासँगै दिनरात अटुटरूपमा निर्वाचन अभियानमा सक्रिय  रहने नेकपा (एमाले) र नेकपा (माओवादी) का सम्पूर्ण कार्यकर्ता,वाम गठबन्धनमा रहेर मलाई सहयोग  पुर्याउने  सम्पूर्ण महानुभावहरू र देश–विदेशमा रहेर मप्रति शुभेच्छा राख्नुहुने सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु ।
यस क्षेत्रमा मेरा प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार गगन थापा विजयी हुनु भएकोमा उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।

डा. राजन भट्टराई
केन्द्रीय सदस्य – नेकपा (एमाले)

तपाइँको प्रतिक्रिया ।