काठमाडौं ५ र ७ को मत गणना सुरु
कपन अनलाइन
काठमाडौ,मंगसिर २३
काठमाडौं क्षेत्रनम्बर ५ र ७ को मतगणना शनिबार बिहान ८ बजेबाट सुरु भएको छ । मुचुल्कामा भन्दा बढी मत गणनाको क्रममा देखिएपछि रातभर गणना रोकिएको थियो ।
बिहान वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच सहमति भएपछि गणना सुरु भएको दुबै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।
टोखा २ क्वाखल र सरस्वती ३ को बुथमा मुचुल्कामा भन्दा बढी मत देखिएपछि कांग्रेसका प्रतिनिधिहरुले गणनामा विरोध गरेपछि गणना रोकिएको थियो ।
काठमाडौं क्षेत्रनम्बर ५ का निर्वाचन अधिकृत चाणक मणी अर्यालले रातभर रोकिएको मत गणना बिहानबाट सुरु भएको अनलाइनखबरलाई जानकारी दिए ।
काठमाडौं ५ मा कांग्रेसका प्रकाशशरण महत र एमालेका महासचिव ईश्वर पोखरेल उम्मेदवार छन् ।
यसैगरी काठमाडौं क्षेत्रनम्बर ७ को मतगणना पनि सुरु भएको सो क्षेत्रका निर्वाचन अधिकृत कपिलमणि गौतमले जानकारी दिए ।
गौतमले अनलाइनखबरसँग भने, ‘मुचुल्का उठाउने क्रममा महिला र पुरुष मतदाताको संख्या उल्लेख गर्ने क्रममा ३ मत बढी देखिएपछि रोकिएको थियो । बिहान ८ बजेबाट गणना सुरु भएको छ ।’
गौतमका अनुसार एमाले उम्मेदवार रामविर मानन्धरले ५ हजार २५ मत पाएका छन् ।
उनलाई राप्रपाका विक्रमबहादुर थापाले २ हजार ७९२ मतसहित पछ्याइरहेका छन् । यसैगरी साझा विवेकशीलका उम्मेदवार अनुपा श्रेष्ठले १ हजार ५६२ मत पाएकी छन् ।